२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

भारतबाट जंगली हात्तीका बथान बर्दिया निकुञ्जमा आए



बर्दिया ।
भारतबाट ठूलो संख्यामा जंगली हात्ती बर्दिया प्रवेश गरेका छन् । हिजो दिउँसोदेखि नै बर्दियाको खाता करिडोर सामुदायिक वन हुँदै भारतबाट जंगली हात्तीको ठूलो समूह बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए ।

बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ३० वटा समुहको हात्तीको बथान हिँडिरहेको तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । यसअघि बर्दियाको बबई भ्याली क्षेत्रमा पनि पहिल्यै हात्तीको अर्को समूह प्रवेश गरेका उनले बताए ।

‘हात्ती बर्सेनि बर्दिया निकुञ्ज प्रवेश गर्छन्,’ उनले भने, ‘गएको वर्ष भने हात्तीको समूह त्यति देखिएको थिएन, अहिले भने ठूलो समूहमा हात्ती निकुञ्ज क्षेत्रभित्र देखिएका छन् ।’ हात्तीको बथानबाट छुट्टिएर गाउँ पसेमा जोखिम पनि बढ्ने भएकाले मध्यवर्ती क्षेत्र छेउछाउका बासिन्दाहरुलाई सतर्कता अपनाउन पनि निकुञ्ज प्रशासनले आग्रह गरेको छ ।

भारतको कतर्नियाघाट हुदै जंगली हात्ती बर्दिया निकुञ्ज प्रवेश गर्छन् । उनीहरु यहाँ प्रवेश गर्ने परम्परागत बाटो छ । त्यो बाटो अतिक्रमण भएको खण्डमा उनीहरुले बाटो विराएर गाउँ बस्न सक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ७ : ४१ बजे