१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

एक वर्षमा दोब्बर भयो खाने तेलको मूल्य, के हो कारण ?



काठमाण्डौँ ।
कोरोना महामारी सुरू भएपछि उपभोक्ता बजार मूल्य आकासिएको छ। सरकारी निकायले गरेको अनुगमनमा पनि अत्यावश्यक वस्तुको बजार भाउ बढेको पाइएको हो। यसमध्ये सबभन्दा चर्चा अहिले खाने तेलको मूल्य वृद्धिको भइरहेको छ। २०७६ चैत ११ गते पहिलोपटक लकडाउन लागू भयो। लकडाउन सुरू हुनेबित्तिकै खाने तेलको मूल्य बढ्न थाल्यो। सुरूमा लिटरमा पाँचरदस रूपैयाँ बढेको तेलको बजार मूल्यमा खास चासो भएन।

जब २०७७ भदौ(असोजसम्म तेलको मूल्य हवात्तै बढ्यो तब बजार अनुमगन गर्ने सरकारी निकायको पनि आँखा पुग्यो। तर त्यतिखेर दसैंतिहार छेको परेकाले भाउ बढेको र विस्तारै कम हुने सरकारले अनुमान गर्‍यो। तर यो अनुमान फेल खायो। कोरोनाको दोस्रो लहरपछि लागू निषेधाज्ञाका बीचमा पनि खाने तेलको भाउ बढ्न छाडेको छैन। तेलको मूल्य कति बढेको छ, पहिला त्यो हेरौं।

नेपाली बजारमा खाने तेल विशेषगरी तीन प्रकारका स्रोतबाट आउँछन्ः भटमास, सूर्यमुखी र तोरी।यी तीनै स्रोतबाट बन्ने तेलका भिन्नभिन्न ब्रान्ड छन्। ब्रान्डअनुसार फरक मूल्य छ। हामीले यहाँ बजारमा प्याकेटमा पाइने सामान्य तेलको भाउ तुलना गरेका छौं।
गत वैशाखमा सामान्य सूर्यमुखी तेल लिटरको एक सय ५० देखि एक सय ७० रूपैयाँसम्म थियो। त्यो बढ्दै दसैं(तिहारसम्म पुग्दा लिटरको दुई सय रूपैयाँ पुग्यो। मंसिरमा लिटरको दुई सय नै रहेको सूर्यमुखी तेलको मूल्य अहिले तीन सयसम्म पुगेको छ।

विगत एक वर्षमा सूर्यमुखी तेलको मूल्य ७० प्रतिशतभन्दा बढी वृद्धि भएको छ। भटमास र तोरी तेलको मूल्य पनि यही अनुपातमा बढेको छ। अघिल्लो वर्ष वैशाखमा लिटरको एक सय ४० रूपैयाँ पर्ने भटमासको तेल यो वर्ष वैशाखसम्म आइपुग्दा दुई सय ४० पुगेको छ। त्यस्तै तोरी तेलमा पनि भारी वृद्धि भएको छ।

एक वर्षमै खाने तेलको मूल्य किन बढ्यो यसरी ?

नेपालमा वनस्पति तेल प्रशोधन तथा उत्पादन गर्नेहरूको संघले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको माग बढेकाले मूल्य बढेको जानकारी दिएको छ। हामीकहाँ खपत हुने तेलको कच्चा पदार्थका रूपमा सूर्यमुखी र भटमासको प्रशोधन नगरिएको तेल ल्याइन्छ। वनस्पति तेलको उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरूले तोरी भने दाना नै ल्याउँछन्।

अन्तर्राष्ट्रिय बजारमै तेलको मुख्य स्रोत भटमास, सूर्यमुखी तथा तोरीको भाउ बढेको उद्योगी(व्यवसायीले स्पष्टीकरण दिएका छन्। गत दसैंमा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुसन्धानमा पनि कच्चा पदार्थको मूल्य बढेको निष्कर्ष निकालेको थियो।

वनस्पति घ्यू(तेल उत्पादक संघका अनुसार आयात लागत बढेकाले तेलको भाउ बढेको हो। हामीकहाँ तेलका कन्टेनर हल्दिया बन्दरगाह, पश्चिम बंगालबाट आउँछ। त्यहाँ भएको चुनाव र निषेधाज्ञाका कारण आयात लागत महँगो भएको हो। त्यस्तै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालसम्म आइपुग्ने कार्गो लागत पनि बढेको संघको भनाइ छ। संघका अनुसार प्याकेजिङ लगायत अन्य सहायक कच्चा पदार्थको सामग्रीको मूल्य वृद्धिले पनि तेलको भाउ बढाएको हो। कच्चा पदार्थको मूल्य उतैबाट बढेर आउँदा यहाँ आयात कर बापतको रकम बढ्छ। अप्रशोधित तेलमा दस प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। प्रतिलिटर चालीस रूपैयाँ कर पर्छ। यसले खाने तेलको उपभोक्ता मूल्य झन् आकासिएको संघको भनाइ छ।

बजारमा उद्योगीव्यवसायीले मूल्य बढाउनुपर्ने कुनै कारण नभएको संघका कोषाध्यक्ष जगदिश अग्रवाल बताउँछन्।बजारमा खाने तेल अभाव कहिल्यै भएन। भण्डार जति पनि छ। मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको मूल्यबाहेक अरू केही कारण छैन, अग्रवालले भने।

यदि बजारमा उद्योगी व्यवसायीले मूल्य बढाएका हुन् भने त्यसको अनुसन्धान गर्न राज्यलाई कुनै गाह्रो नभएको उनले बताए। प्रत्येक कम्पनीका वासलातसम्म पहुँच राख्ने राज्यले यो कुरा सहजै थाहा पाउने उनको भनाइ छ। व्यवसायीले कच्चा पदार्थको मूल्य बढेको बताए पनि कति बढ्यो भनेर प्रष्ट पारेका छैनन्। भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष वैशाखमा आयातीत अप्रशोधित सूर्यमुखी र भटमासको तेल तथा तोरी दानाको मूल्य बढेको छ।

विदेशबाट तेल आयात गर्नेले घोषणा गरेअनुसार विगत एक वर्षमा अप्रशोधित सूर्यमुखी तेलको मूल्यमा ३८ प्रतिशत वृद्धि भएको छ। अर्थात् अघिल्लो वैशाखमा एक सय पाँच रूपैयाँ लिटरमा आउने तेल अहिले एक सय ४७ रूपैयाँ पुगेको छ। भटमासको अप्रशोधित तेल पनि एक सय पाँचबाट बढेर एक सय ३६ पुगेको छ।

कच्चा पदार्थको मूल्य वृद्धि जुन अनुपातमा भएको छ, प्रशोधित तेलको मूल्य करिब दोब्बर बढेको छ। यसको अर्थ कच्चा पदार्थसँगै अरू कारकले पनि काम गरेको हुन सक्छ। तर यसतर्फ सरकार तथा अनुगमन निकायले ध्यान दिएका छैनन्। सेतोपाटीबाट ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  १ : १५ बजे