२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

शान्ति पुनःस्थापना गृहको संयुक्त अनुगमनः सुरक्षा प्रबन्ध बलियो बनाउन सुझाव



दिपा महत, तौलिहवा ।
शान्ति पुनःस्थापना गृह कपिलवस्तुको कार्यालय कृष्णनगर तथा सम्पर्क कार्यालय मर्यादपुरको आइतबार संयुक्त अनुगमन गरिएको छ। मानव बेचबिखनविरुद्ध काम गर्दै आएको यस संस्थाले गर्दै आएका कार्यहरूबारे सरोकारवालाले सोही अवसरमा जानकारी लिएका हुन्।

अनुगमन टोलीमा रहेका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ३७४ जनाको उद्धार गरिएको थियो। उहाँले गत वर्षको तुलनामा केसहरूको संख्या केही कम भए पनि विभिन्न नाका तथा स्थानहरूबाट मानव बेचबिखन हुने घटना अझै पनि चुनौतीको विषय रहेको बताउनुभयो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले भारतबाट आउने केसहरूलाई थप गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै मानव बेचबिखनका घटनामा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले पुनःस्थापना गृहमा बस्ने व्यक्तिहरूको सुरक्षालाई प्राथमिकतामा राखी कम्पाउण्ड निर्माण गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन सुझाव दिनुभयो ।

प्रहरी उपरीक्षक सन्तोष आचार्यले उद्धार भई सोधपुछमा परेका व्यक्तिहरूको गोपनीयता सुनिश्चित गर्न उनीहरूको नाम परिवर्तन गरेर अभिलेख राख्नुपर्ने सुझाव दिनुभयो ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, उपप्रमुख रमेश कुर्मी, प्रहरी उपरीक्षक सन्तोष आचार्य, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारु, शान्ती पुनःस्थापना गृहका सुपरभाइजर दिनेश तिमल्सिना, जयप्रकाश पाण्डे तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

शान्ती पुनःस्थापना गृहले मानव बेचबिखनविरुद्धको अभियानलाई निरन्तरता दिँदै पीडितको उद्धार, संरक्षण र पुनःस्थापनामा सक्रिय रूपमा काम गर्दै आएको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२ आइतबार ००:००  ६ : २७ बजे