१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पुन दम्पतिद्वारा गृहजिल्लामा स्वास्थ्य सामग्री वितरण



रोल्पा ।

पूर्वसभामुख ओनसरी घर्ती र पूर्वमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । माओवादी केन्द्रका नेतासमेत रहेका उनीहरुले अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ब्याग, एन ९५ मास्क, सर्जिकल मास्क, इन्टिजन किट, पिपिई लगायत सामग्री वितरण गरेका हुन् ।

जिल्ला अस्पताल, सुरक्षाकर्मीका प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको पुनको सचिवालयले जनाएको छ ।

स्वास्थ्य सामग्री वितरण गर्दै नेता पुनले जनस्वास्थ्यसँग सम्बन्धित विषयमा राजनीति नगर्न आग्रह गरे । अहिले कोभिड १९ महामारीविरुद्ध एकजुट भएर लड्नुपर्ने भन्दै उनले स्वास्थ्य मापदण्डको पालना गरी आफू, परिवार र समुदायलाई सुरक्षित राख्न आग्रह गरे ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड-१९ महामारी नियन्त्रणमा पूर्णतः असफल भएको भन्दै उनले महामारीको अनुचित फाइदा उठाउँदै सरकारमा भएकाहरु कमाउ धन्दामा लागेको टिप्पणीसमेत गरे ।

स्वास्थ्य सामग्री प्राप्त भएपछि कोभिड-१९ विरुद्धको लडाइँ लड्न आफूहरुको मनोबल उच्च भएको सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  १० : ३५ बजे