७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

स्थानान्तरण पत्रविनाको विद्यार्थी भर्ना रोक्न प्याब्सन बाणगंगाको माग



मायादेवी अनलाइन, चारनम्बर ।

स्थानान्तरण पत्रविना विद्यार्थी भर्ना गरिएको विरोधमा नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाणगंगा नगर समितिले नगरपालिकामा ज्ञापन पत्र पेश गरेको छ ।

कोरोनाको कहरमा नीजि विद्यालय स्वयम् मारमा परेको अवस्थामा नगरका सरकारी विद्यालयले स्थानान्तरण पत्र (सर्टिफिकेट) विनै धमाधम आफ्ना विद्यार्थी चोरी गरी भर्ना गरिरहेको पाइएपछि त्यसलाई निरुत्साहित गर्न माग गर्दै प्याब्सनले बाणगंगा समक्ष ज्ञापन पत्र पेश गरेको हो ।

नगर अध्यक्ष राजु अधिकारीले मंगलबार दिउसो नगर प्रमुख मंगलप्रसाद थारु, उप-प्रमुख चक्रपाणी अर्याल, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

No description available.

एक विद्यालयबाट अर्को विद्यालयमा विद्यार्थी भर्ना गर्दा गराउँदा अनिवार्य रुपमा स्थानान्तरण पत्र लिएको हुनु पर्ने नगरको शिक्षा समितिको निर्णय भए पनि त्यसलाई लत्याउँदै सरकारी विद्यालयले धमाधम विद्यार्थी भर्ना गरेको पाइएपछि आफूहरु ज्ञापन पत्र पेश गर्न बाध्य भएको प्याब्सनका केन्द्रीय सचिवालय सदस्य तथा बाल ज्योति इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल सर्वेन्द्रदेव खनालले बताउनु भयो ।

त्यस्तो बदमासी गर्ने विद्यालयको बारेमा पटकपटक जानकारी गराउँदासमेत नगरको शिक्षा शाखाले कुनै ध्यान नदिएको, कुनै कारबाही प्रकृया अगाडी नबढाएको भन्दै प्याब्सनले गम्भीर बन्न समेत ज्ञापन पत्रमार्फत् ध्यानाकर्षण गराइएको छ । ज्ञापन पत्र पेश गर्दा समेत माग सुनुवाई नभएको खण्डमा नगरका कुनै निर्णय नमान्ने र आफूअनुकुल चल्ने चेतावनी समेत प्याब्सनले दिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थारु, उप-प्रमुख अर्याल र शिक्षा शाखा प्रमुख भट्टराईले यस विषयमा थप बुझ्ने बताउनु भयो । उहाँहरुले नगर शिक्षा समितिका निर्णय नमान्ने छुट कसैसंग नभएको बताउदै ध्यानाकर्षण भएको बताउनु भयो ।

ज्ञापन पत्र पेश गर्न प्याब्सन जिल्ला उपाध्यक्ष तथा लिटिल स्टार बोर्डिङका प्रिन्सिपल सुन्दर पाण्डे, होराइजन माविका प्रिन्सिपल बासुदेव घिमिरे, ज्ञानपुञ्ज बार्डिङका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरे, हिलवर्ट बोर्डिङका प्रबन्ध निर्देशक बुद्धि पौडेल, चिल्ड्रेन प्याराडाइजका प्रिन्सिपल केशव सापकोटा, स्काइलार्क बोर्डिङका अध्यक्ष तोलाकान्त डुम्रे, जि होराइजनका प्रिन्सिपल दिपक अधिकारी लगायत जानु भएको थियो ।

कतिपय नीजि विद्यालयमा पनि यो समस्या रहेको भन्दै तुरुन्त यस्तो कार्य बन्द गर्नु पर्ने प्याब्सन उपाध्यक्ष पाण्डेले मायादेवीसंग बताउनु भयो । यस्तो कार्य शिक्षा क्षेत्रकै विकृति भएको हुँदै यसले शैक्षिक गुणस्तर खस्काउने प्रिन्सिपलहरुको ठहर छ ।

नगर शिक्षा समितिले गरेका हरेक निर्णय तत्काल कार्यान्वयन गराउनु पर्ने उनीहरुको माग छ । स्थानान्तरण पत्रविनै आफ्ना विद्यार्थी धमाधम चोरिँदा ठुलो नोक्सानी हुने हुने नीजि विद्यालय संचालक बताउँछन् । कोरोनाको कारण विद्यालय बन्द भएको मौकामा नगरका केही सरकारी विद्यालयले यसलाई फाइदाको रुपमा लिएको प्याब्सन बताउँछ ।

No description available.

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  २ : ५३ बजे