७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अविरल वर्षाले रानीमहल क्षेत्र डुबानमा



पाल्पा ।

अविरल वर्षाले कालीगण्डकी नदी तटमा रहेको रानीमहल क्षेत्र डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको हो । स्थानीय व्यवसायी सुशील कुँवंरका अनुसार पर्यटकीयस्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन रिसोर्ट तथा पसल टहराहरु पूर्ण रुपमा डुबानमा परेका छन् । रानीमहलमा डिभिजन वन कार्यालय र तानसेन नगरपालिकाले बनाएको पार्कसम्म नै पानीको सतह पुगेको छ ।

रानीमहल क्षेत्रमा हरेक वर्ष डुबान हुन्छ । वर्षायामपछि यहाँ पुनस् बगर क्षेत्रमै रिसोर्ट, होटल र पसल सञ्चालन हुन्छन् । अव्यवस्थित रुपमा सञ्चालन हुने होटल, रिसोर्ट र पसल वर्षायाममा भने डुबानमा पर्ने गरेको स्याङ्जा सटुकाका होटल व्यवसायी सुरेश पाण्डेयले बताए ।

कालीगण्डकी तटमा निर्माण भएको रानीमहलमा सिजनमा दैनिक ३ हजारसम्म पर्यटक पुग्ने गर्छन् । अन्य समयमा समेत यही महल हेर्नका लागि पर्यटक जाने गर्छन् । रानीमहल तानसेन नगरपालिका–१३, बौघागुम्हामा पर्छ ।

तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहल क्षेत्रमा नदी गहिरिएको र कटान गर्दै गएकाले खतरा बढेको सशस्त्र प्रहरीको गोताखोर टोलीको रिपोर्टमा उल्लेख छ । यहाँ नदीले रानीमहलतर्फ बढी क्षति पुऱ्याउँदै आएको छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा वि.स. १९५१ देखि ५४ सालसम्म यो महल बनाएका हुन् ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  १२ : ४६ बजे