१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

दीपक पाण्डेका हत्यारा पत्ता लगाउने एसपी अधिकारी र डीएसपी भण्डारी पुरस्कृत



मायादेवी अनलाइन, चारनम्बर ।

माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै कपिलवस्तुका २ जना प्रहरी अधिकृतलाई पुरस्कृत गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रधान कार्यालय बुटवलले जिल्लाका प्रहरी प्रमुख उपरिक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायव उपरिक्षक (डीएसपी) धमराज भण्डारीलाई नगदसहित पुरस्कृत गरेको हो ।

एसपी अधिकारीको कमाण्डमा भएको अनुसन्धानबाट उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको खुलेको थियो । प्रहरीले हत्या आरोपमा ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनापछि डीएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्वीस्की’ नाम दिएर अनुसन्धान सुरू गरेको थियो । कार्यालयले असार १ गते उहाँहरुलाई पुरस्कृत गरेको हो । कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले भन्नुभयो, “उत्कृष्ट अनुसन्धान गर्नेलाई पुरुस्कृत गर्ने हाम्रो नीति नै हो । राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्छ । व्यावसायिक काम गर्नेको पक्षमा सधैँ संगठन रहन्छ ।”

गत जेठ ५ गते नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता पाण्डेको गोली प्रहार गरी हत्या गरिएको थियो । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएका थिए । प्रहरीले २५ दिन लामो अनुसन्धानबाट गएको सोमबार उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको सार्वजनिक गरेको थियो ।

एसपी अधिकारीले कपिलवस्तुमा रहेर काम गरेको एक वर्ष पुगिसकेको छ । बिभिन्न हत्या, अपराधमा संलग्नहरुलाई खोजी गरी नियन्त्रण गर्न कपिलवस्तु प्रहरी सफल भएको देखिन्छ ।

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  १ : ४९ बजे