७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

फेरि थुनियो मर्स्याङ्दी नदी



मनाङ ।

चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रुख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो । थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिममा परेको छ । मङ्गलवार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।

गएको शनिवार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा, माटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षाले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  २ : १६ बजे