७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बालबालिकाका गुनासा सुन्दै बुद्धभूमिका मेयर श्रेष्ठ



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ ‘मेयरसंग बालबालिका’ कार्यक्रम मार्फत बालबालिकाका विद्यमान समस्या समाधान गर्ने दिशा तिर लाग्नु भएको छ । मायादेवी मिडिया ग्रुपको समन्वय र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा नगरको वडा नं. १ र वडा नं. ४ मा बुधबार भएको ‘मेयरसंग बालबालिका’ कार्यक्रम मार्फत नगर प्रमुख श्रेष्ठले बालबालिकाका गुनासा सुन्दै समाधानको दिशा तिर लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।

वडा नं. १ को सिद्धार्थ स्मारक मावि भेलाईमा भएको कार्यक्रममा बालबालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नुपर्ने, खानेपानी, शौचालयको राम्रो प्रबन्ध हुनुपर्ने लगायतका माग राखेका थिए । उनीहरुले राखेको मागलाई सम्बोधनका क्रममा नगर प्रमुख श्रेष्ठले आगामी बर्ष बजेट मार्फत उक्त गुनासाहरुलाई आवश्यक्ताको आधारमा सम्बोधन गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिमुलक रुपमा सहभागी भएका बालबालिकाले बाल अधिकारका सवालमा नगर भित्र भए गरेका कामहरुको बारेमा नगर प्रमुख श्रेष्ठसंग जानकारी लिने प्रयास गरेका थिए ।

नगर प्रमुख श्रेष्ठले बुद्धभूमिलाई तत्कालै बालमैत्री नगर घोषणा गर्ने अभियानमा लागेको बताउँदै अहिले सिंगो नगर पूर्ण विद्यालय भर्ना, पूर्ण खोप र पूर्ण साक्षर बनिसकेको बताउनुभयो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि नगरले हरेक बर्ष अतिरिक्त क्रियाकलाप अन्तरगत रचनात्मक कामहरु गर्दै आएको बताउँदै नगरको शिक्षा सुधारमा विभिन्न प्रयासको थालनी गरेको बताउनुभयो ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेतले सामुदायिक विद्यालयको शिक्षा सुधार्न सरकारी तवरबाटै प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । सरकारी कर्मचारीका छोराछोरीलाई नै सरकारी विद्यालय प्रति अविश्वास हुने गरेको चर्चा गर्दै सामुदायिक विद्यालयको पढाई सुधार्ने नै हो भने सरकारी कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य अध्ययन गराउनुपर्ने निती ल्याउनुपर्ने बताउनुभयो । वडा भित्र शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न प्रयास भएको पनि उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य कमला चौधरी, सिद्धार्थ स्मारक माविका प्रधानाध्यापक डिलाराम पौडेल लगायतले सहभागी बालबालिकाले राखेका प्रश्नको जवाफ दिनुभएको थियो ।

बुधबार छायाङ्कन गरिएको ‘मेयरसंग बालबालिका’ कार्यक्रम मायादेवी टिभी, मायादेवी अनलाइन डटकमबाट हेर्न सकिनेछ भने रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जबाट सुन्न सकिने छ । कार्यक्रमको विषयबस्तुमाथि मायादेवीका अध्यक्ष हरि अधिकारीले प्रकाश पार्नु भएको थियो भने सहजिकरण चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो ।

कोरोना भाइरसको मारमा बालबालिका, मेयरसंग राखे तमाम जिज्ञासा
यता ‘मेयरसंग बालबालिका’को दोस्रो श्रृङ्खला अन्तरगत वडा नं. ४ मा भएको कार्यक्रममा सहभागीले कोरोना भाइरसका कारण कतिपय बालबालिका कुलतमा फसेको बताएका छन् । लामो समय विद्यालय बन्द हुँदा घरमै बसेका बालबालिका कुलतमा फस्न थालेको भन्दै यता तिर विशेष ध्यान दिन मेयर, वडाध्यक्ष र शिक्षकसंग आग्रह गरेका छन् ।

साथै उनीहरुले बैकल्पिक माध्यमबाट शिक्षण सिकाई प्रक्रिया आगाडी बढाउन आग्रह गरेका छन् । विद्यालय खुल्ने सम्भावना आफुहरुले नदेखेको र कोरोनाको तेस्रो लहरमा बालबालिका पर्ने सक्ने विज्ञले बताइरहेको भन्दै बैकल्पिक माध्यमको प्रयोग गरी शिक्षण प्रक्रिया आगाडी बढाउन बालबालिकाले माग गरेका हुन् ।

बालबालिकाका गुनासालाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले आगामी बर्ष शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्दै अहिलेको विषम परिस्थितीलाई समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । भौतिक विकासले मात्र समग्र विकास नहुने भन्दै आफ्नो ध्यान शिक्षा क्षेत्रमा बढी गएको बताउनुभयो ।

वडाध्यक्ष पवनकुमार चौधरीले वडा भित्र रहेका सबै विद्यालयको सुधारमा आफु लागि परेको जनाउनुभयो । बजेट भ्याएसम्म आफुले शिक्षा क्षेत्रमा लगानी बढाएको भन्दै आवश्यक राम्रा सुझावका लागि सबैसंग आग्रह गर्नुभयो ।

भृकुटी माविका प्रधानाध्यापक वेदराज भुसालले विद्यालय भित्र रहेका समस्या समाधानमा आफु लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ९ : ३४ बजे