१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुको वाणगंगाद्धारा एक अर्ब २८ करोडको बजेट सार्वजनिक



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले १ अर्ब २८ करोड ३२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार ९ औं नगरसभामा नगरका उप-प्रमुख चक्रपाणी अर्यालले आव ०७८/०७९ को बजेट भाषण मार्फत उक्त बजेट सावर्जनिक गर्नुभएको हो ।

चालु आवमा वाणगंगाले १ अरब १२ करोड ४७ लाख बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यद्यपि चालु आवको भन्दा आउँदो बर्षका लागि वाणगंगाको बजेट १६ करोडले बृद्धि भएको छ ।

उप-प्रमुख अर्यालद्धारा प्रस्तुत बजेटमा चालु तर्फ ८७ करोड २१ लाख, कार्यालय सञ्चालन र प्रशासनिक खर्च तर्फ १४ करोड ७१ लाख विनियोजन गरिएको छ ।

यस्तै सामाजिक सुरक्षा कार्यक्रममा २५ करोड, नगरपालिका तथा अन्तरगत कार्यालयमा कार्यरत कर्मचारीहरुको तलव भत्ता तथा नियमित कार्यक्रम लगायत अन्य प्रशासनिक कार्यका लागि १५ करोड ८७ लाख बराबरको बजेट उप-प्रमुख अर्यालले सभामा प्रस्तुत गर्नुभएको छ ।

वाणगंगाले क्षेत्रगत बजेटमा सामाजिक विकास तर्फको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा गरी ७१ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । यस्तै पूर्वाधार तर्फ ३१ करोड ९७ लाख बजेट छुट्याएको वाणगंगाले आर्थिक विकास तर्फ ६ करोड ७९ लाख बजेट विनियोजन गरेको छ ।

वाणगंगाले वडागत तर्फ न्यूनतम ५० लाख र बाँकी वडाको क्षेत्रफल, जनसंख्या, भौगोलिक अवस्था, राजश्व असुलीको आधारमा अंकभार कायम गरी सुत्रको आधारमा सन्तुलित बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ९ : ३९ बजे