लुम्बिनी प्रदेश मन्त्रीपरिषदमा कपिलवस्तुबाट ३ जना, थपिए २ मन्त्री


मायादेवी अनलाइन, जितपुर ।

लुम्बिनी प्रदेशमा कपिलवस्तुका २ सांसद मन्त्री बनेका छन् । नेपाली कांग्रेस कपिलवस्तुकी समानुपातिक सांसद रिना नेपाल विक र माओवादी केन्द्रकी समानुपातिक तर्फकी सांसद सुष्मा यादव मन्त्री बन्नु भएको हो । नेपाल पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री हुनुभएको छ भने यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुनुभएको छ । यससंगै लुम्बिनी प्रदेशको मन्त्रीपरिषदमा कपिलवस्तुका ३ जना सांसदले प्रतिनिधित्व गरेका छन् । यस अघि कपिलवस्तुमा जसपाबाट सहसराम यादवमन्त्री बन्नुभएको हो ।

पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिनुक्रममा ती मन्त्रीले पनि सपथ लिएका छन् । संघ र प्रदेशमा गठबन्धनका दलहरूबीच भागबन्डा मिलेपछि आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाई, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री भएका छन् ।

यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले सपथ लिएकी छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएकी हुन् । माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्‍चार, दाङका इन्द्रजित थारू स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री भएका छन् ।

माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री भएकी छन् । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानून, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी छन् । लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी गराइएको हो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस