१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

साना किसान कृषि सहकारीद्वारा ऋणी सदस्यलाई वित्तीय साक्षरता



जितपुर।

कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भलवाडमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना ऋणी सदस्यहरूका लागि एकदिवसीय वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा संस्थामा आबद्ध १०५ जना ऋणी सदस्यको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाकी प्रबन्धक मानकुमारी गिरीले सहकारीमा आबद्ध सदस्यहरूलाई ऋणको सदुपयोग, वित्तीय अनुशासन, बचत तथा लगानीलगायतका विषयमा प्रशिक्षण प्रदान गरेकी थिइन ।

कार्यक्रममा संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि तथा आगामी योजनाका विषयमा समेत छलफल गरिएको थियो। सहभागी ऋणी सदस्यहरूले संस्थाबाट प्राप्त ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, समयमै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्ने र सहकारीसँगको कारोबारलाई थप व्यवस्थित बनाउने विषयमा अन्तरक्रिया गरेका थिए।कार्यक्रममा संस्थाकी प्रबन्धक गिरीले संस्थाले २०८३ असार मसान्तसम्म ७२ लाख ७३ हजार ५२ रुपैयाँ नाफा गर्न सफल भएको बताएकी थिइन ।

उनले सदस्यहरूको विश्वास, नियमित बचत तथा ऋण कारोबार र संस्थाको व्यवस्थापनका कारण सहकारीले निरन्तर प्रगति गर्दै आएको बताइन ।

२०५३ सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पछिल्लो समय आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ र १३ नम्बर वडामा समेत सेवा विस्तार गरेको छ। संस्थामा हाल २ हजार २ सय ९० जना शेयर सदस्य आबद्ध रहेको जनाइएको छ। सहकारीले सदस्यहरूलाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी वित्तीय ज्ञान र चेतनासँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। वित्तीय साक्षरतामार्फत सदस्यहरूलाई ऋणको सही सदुपयोग, आयआर्जनका क्षेत्रमा लगानी तथा आर्थिक जोखिम व्यवस्थापनमा सक्षम बनाउने उद्देश्य रहेको संस्थाले जनाएको छ।

प्रकाशित मिति : १७ भदौ २०८३ बुधबार ००:००  ९ : १८ बजे