वाणगंगामा एकीकृत समाजवादी संगठन विस्तारमा जुट्यो, वडा नं. ८ को अध्यक्षमा बेल्वासे


मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको वाणगंगा नगरभित्र संगठन विस्तारमा जुटेको छ । ११ वडा रहेको वाणगंगामा वडा नं. ८ बाट संगठन विस्तार सुरु भएको हो ।

मंगलबार भएको वडा भेलाबाट शैलेन्द्र बेल्वासेको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटी गठन गरिएको नगर इन्चार्ज कमल भट्टराईले जानकारी दिनुभयो ।

वडा कमिटीको उपाध्यक्षमा यादव पौडेल (यदुनाथ), सचिवमा कमल बेल्वासे, उप सचिवमा रिता ज्ञवाली र अन्य सदस्यहरुमा रहनुभएको छ ।

वडा भेलालाई सम्बोधन गर्दै पार्टी जिल्ला उपाध्यक्ष तथा प्रतिनिधिसभा क्षेत्र नं. २ की इन्चार्ज गीता अञ्जानले कम्युनिष्ट इतिहास बोकेको वडा नं. ८ बाट एकीकृत समाजवादी उदाएको बताउनुभयो । लामो समय एमालेमा राजनीति गर्दैै आएपनि कम्युनिष्ट आचरणबाट एमाले च्यूत हुँदै गएको चर्चा गर्दै कम्युनिष्ट पार्टीको बृहत एकता गर्दै समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एस) निमार्ण गर्नुपरेको उहाँले बताउनुभयो । लामो समय व्यवस्था परिवर्तनमा लागेपनि जनताको अवस्था फेर्न नसकिएको भन्दै फेरि पनि संघर्षको जरुरी रहेको बताउनुभयो ।

जिल्ला उपाध्यक्ष तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज नेत्रलाल खनालले नेकपा (एस) संग एमालेको तुलना हुन नसक्ने बताउनुभयो । केपी ओली सरकारमा जति भष्ट्रचार कुनै समय नभएको भन्दै भष्ट्रचारको नाइकेको रुपमा एमाले देखिएकाले त्यसलाई परास्त गर्नका लागि एकीकृत समाजवादीमा लागेको प्रष्ट पार्नुभयो । विधि, विधान र कानुन नमाल्ने ओलीको दम्भ, अहंमता नै पार्टी फुटको कारण भएको उहाँले बताउनुभयो ।

जिल्ला उप सचिव तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का इन्चार्ज ओमप्रकाश चौधरीले लामो समय एमालेबाट मधेसमा राजनीति गरेपनि इज्जत भन्दा बढी अपमान सहनु परेको बताउनुभयो । मधेसमा केपी ओली मधेस विरोधीको रुपमा चित्रण गरेपनि त्यसलाई चिर्दै राजनीति गरेपनि पार्टीमा मुल्याङ्कन नभएको बताउनुभयो । सिंगो कपिलवस्तुका मधेसी जनता नेकपा (एस)मा समाहित हुने भन्दै अबका केही दिनमा पश्चिममा नेकपा (एस)को लहर आउन थालेको सुनाउनुभयो ।

भेलामा नेकपा (एस) का जिल्ला सदस्य तथा वाणगंगा इन्चार्ज कमल भट्टराई, युवा संघ केन्द्रीय सचिवालय सदस्य अजय पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष दिपक अनुरागी, युवा संघ नेपाल कपिलवस्तु सह सचिव प्रमोद ज्ञवाली, जिल्ला कोषाध्यक्ष सुशील भट्टराई लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित वडा कमिटी अध्यक्ष शैलेन्द्र बेल्वासेले सबैको साथ, सहयोग लिएर वडामा पार्टी निर्माणको कामलाई तीव्र पार्ने प्रतिवद्धता जनाउनुभयो । विभिन्न पार्टीले गाउँ, समाजमा विकासका आश्वासन बाडेपनि काम नभएको भन्दै अब पार्टीले समग्र विकासको नेतृत्व गर्ने उहाँले बताउनुभयो ।

नव निर्वाचित वडा कमिटी उपाध्यक्ष यादव पौडेल (यदुनाथ)को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नव निर्वाचित वडा कमिटी सचिव कमल बेल्वासेको सञ्चालन रहेको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस