८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लुम्बिनी प्रदेशमै पहिलो पटक बाँकेमा बुस्टर डोज लगाउन शुरु



नेपालगञ्ज ।

लुम्बिनी प्रदेशमै पहिलो बन्दै आइतवारबाट बाँकेमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले भेरी अस्पतालको खोप केन्द्रमा खोप लगाएर बुस्टर डोज खोप लगाउने कार्यको शुभारम्भ गर्नुभयो ।

पछिल्लो समयमा कोरोना फेरि बढ्दै गएकोले अहिले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको उहाँले बताउनुभयो । पछि विस्तारै सबै नागरिकलाई आवश्यकताअनुसार बुस्टर डोज दिने सरकारको योजना रहेको पनि उहाँले बताउनुभयो ।

२०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधिभित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आइतवार माघीको बिदा भए पनि ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार, अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी), सार्वजनिक फोहोर सङ्कलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरु, विमानस्थलमा खटिने कर्मचारीहरु, सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घ संस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक आदि) मा काम गर्ने कर्मचारीहरुलाई ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको हो ।

प्रकाशित मिति : २ माघ २०७८ आइतबार ००:००  ६ : २२ बजे