१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आमा र ड्राइभर भित्र देखिएको राष्ट्रवाद !



दीपक अनुरागी ।

हतारको जीन्दगी । सधैं मोटरसाइकलबाट दिनभर दैडिरहने म सितिमिति सार्वजनिक यात्रा गर्दैन् । सार्वजनिक यात्रा पेशा अनुकुल नपर्ने भएकाले यसो हुन पुगेको हो । अरु केही होइन् । फेरि म यस्तो परिवेशमा हुर्किए । कक्षा ५ देखि कक्षा १० सम्म पढ्दा निरन्तर सार्वजनिक यातायात मार्फत विद्यालय जानु पर्थ्यो ।

संयोग नै मान्नुपर्छ फाल्गुणको पहिलो हप्ता सार्वजनिक यात्रा गर्ने अवसर मिल्यो । त्यस दिन जिल्ला सदरमुकाम तौलिहवा हुँदै चारनम्बर ओहोरदोहोर गर्न पर्‍यो । मित्र कमल बेल्वासे र म तौलिहवाबाट सार्वजनिक बसमा चारनम्बर आउँदै थियौं । त्यस दिन बसमा सिट संख्याभन्दा असाध्यै बढी यात्रु सवार थिए । बसका सबै यात्रु आ–आफ्नो सुर र तालमा थिए । बसमा भीडभाड भएकाले मित्र कमल र म मौन थियौं । भीँडको कारण हामी दुई बीच पनि संवाद हुन सकेको थिएन् । अरु यात्रुसंग गफिने कुरा अलि परको कुरा भयो ।

तौलिहवा देखि अगाडी पचेहरा नपुग्दै अधिकांश यात्रु ओर्लिए । बसको गल्लीभरि उभिएका यात्रु ओर्लिसकेका थिए भने कतिपय सिटका यात्रु पनि ओर्लिएका थिए । त्यही मौका छोपि कमल र म पनि सिटमा बस्यौं । सिटमा बस्दै गर्दा कमलले एक जना स्कूलले जीवनको साथी भेटे ।


दुवै जना गफ चुट्न थाले । म मौन नै बसे । कमल पनि विद्यार्थी नेता भएको कारण उसले साथीसंग राजनीतिक रंगका कुरा गरिरहेका थिए । नजिकै उमेरले ६० पुगेका जस्ता देखिने दुई जना आमाहरु हुनुहुन्थ्यो । उहाँहरुको मुहार र कपडा लवाई असाध्यै साधारण देखिन्थ्यो । कमै आमाहरु हुन्छन्, जसले घाटी र कानामा साना भए पनि गहना नलगाएका हुन् ।

उहाँहरु दुवै जनाले सुनका गहना बाहेक अरु रेडिमेट कानमा झुम्का र घाटीमा माला पहिरिनु भएको थियो । खुट्टा तिर हेर्दा चप्पल थिए जुत्ता समेत थिएन ।

यति साधारण आमाहरु जसलाई अहिलेको विकृत राजनीतिबारे चासो होस् भन्ने मलाई पटक्कै लागेको थिएन । कमल र उसको साथीले विद्यार्थी राजनीतिको कुरा गरिरहदा एक जना आमाले ठूलो स्वर निकाल्दै भन्नुभयो–‘हाम्रा देशका नेताले एमसीसीको नाममा देश बेच्न थाले । यस्ता नेताका के कुरा गर्नू ।’

हेलो–हायसम्म नभएको आमा एमसीसीबारे यत्तिकै रोकिनुभएन्, ‘गद्धार नेताहरु चुनावको बेला मत माग्न घर त आउलान्, त्यति बेला हामीले जानेका छौं ।’

ती आमाले एमसीसी बारे खबरदारी पूर्ण आक्रोश पोख्दा म हासेरै समर्थन गरे, अरु थप प्रतिक्रिया दिएन । नजिकै रहनु भएकी अर्की आमाले हस्तेमा–हैसे थप्दै भन्नुभयो,–‘ देश बेच्ने नेताका के कुरा गर्नू !’ दुवै आमाहरुले एमसीसीबारे थप कुराकानी गरिरहनुभयो–‘एमसीसी देश बेच्नका लागि ल्याइदै छ । हाम्रो देश अमेरिकालाई बेच्ने भए यी दलाल नेताले । यस्तै यस्तै ।’

सामान्य आमाहरुको यस प्रकारको राजनीतिक क्रान्तिकारी, देशभक्ति भावना देखेर हामी युवा नतमस्तक भयौं । लाग्थ्यो हामी जस्तो उमेरको उहाँहरु भएको भए जिल्लामा एमसीसी विरुद्ध आगो बाल्नुहुन्थ्यो होला ।


प्रसंग फाल्गुण ९ गतेको हो । मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारी र म काठमाडौं देखि घर तर्फ फर्कदै थियौं । ७ः३० मा उड्ने भनेको प्लेन ८ बजे काठमाडौंबाट भैरहवाका लागि उठ्यो । ८ः ३५ मा गौतमबुद्ध विमानस्थलमा आएका हामी टर्मिनल भवन छाडेर बाटोसम्म आइपुग्दा पौने ९ बजेको थियो । बुटवलसम्म पुग्ने सवारीको जोओ गर्दै गर्दा एउटा सरकारी गाडी भेट्यौं । त्यहीँ गाडीबाट बुटवलसम्म आयौं । सिटिईभिटीको उक्त सरकारी गाडीमा रहदा एमसीसीकै बारेमा चर्चा परिचर्चा भै नै रह्यो ।

सवा ९ बजे बुटवल झरेका हामी पूर्व पश्चिम महेन्द्र राजमार्गमा पश्चिम जाने बसको प्रतिक्षामा थियौं । कपिलवस्तुसम्म पुग्नका लागि हामीलाई हम्मे हम्मे थियो । छिप्पिदो रातको समय लोकल गाडी नचल्दा पश्चिम पुग्ने बस आउला र हामी जाउला भन्ने प्रतिक्षामा थियौं ।
घडीले रातको १० बजायो तर बस आएन् । यो बीचमा विभिन्न साना तथा ठूला गाडी (बस बाहेक) रोक्न खोजे पनि कसैले रोकेनन् । तरपनि हामीले गाडी रोकाउन छाडेनौं ।

यहीँ क्रममा नभन्दै अर्को १२ चक्के ट्रक सुस्त गतिमा आउँदै थियो । नवलपरासीबाट सिमेन्ट लिएर कैलाली जान थालेको उक्त ट्रकले हामीले रोक्यो । संयोगवस् बुटवलबाट ट्रक चढ्ने हामी पाँच जना भएका थियौं । एक जना लमही, एक जना बनगाई, एक जना सालझण्डी र दुई जना चारनम्बर झर्ने गरी ।

प्लेन हुँदै ट्रकसम्मको यात्रा हाम्रो लागि निकै रोमाञ्चक बनेको थियो । ट्रक भित्र हरि दाई र म अनेकन हासोमजाक गरिरहेका थियौं । ट्रक आफ्नो गतिमा दैडिरहेको थियो ।

लामो समय नेपालकै गाडी चलाएर साउदी अरेविया र मलेसियासम्म गाडी चलाएको अनुभव बटुलेका चालक रहेछन् । पछि कुराकानीको सन्दर्भमा थाहा पायौं । तर, ट्रक चालक आफ्नै तालमा ड्राइभिङ गरेका थिए । ट्रक चालकले हामीलाई न पेशा व्यवसाय सोधेका थिए, न हामी बताएका थियौं । ट्रकको यात्रामा मात्र यात्रु र चालकको सम्बन्ध थियो ।

आधाबाटो सम्म आफ्ना तालमा गाडी कुदाइरहेका चालकले एक्कासी भने, ‘राष्ट्रघाति एमसीसी पास गरि छाड्ने भए है हाम्रा नेताले ।’
त्यसो भन्दा वित्तिकै लमहीसम्म पुग्ने साथीले थपे, ‘यी गद्धार नेताहरुले देश बेच्दै बेच्दै यहाँसम्म आएकै त हुन् ? अब पनि के बाकीँ राखुन् ।’ चालक झन आक्रोशित हुँदै भने, ‘शेरबहादुर देउवा अब सकिन्छन्, उनकै कारण एमसीसी पास हुने भयो । कांग्रेस सकाउने भए देउवाले ।’ माधवकुमार, केपी र प्रचण्ड पनि देश बेच्ने दलाल नै हुुन् ।’ उनले कुनै नेतालाई बाँकी राखेनन् ।

बर्षौ विदेश बसेर गाडी चलाएको अनुभव संगालेका उनी नेताहरु प्रति सन्तृष्ट थिएनन् । यहाँको सडकमा गाडी चलाउनु पर्दाको पीडा र वेदना सुनाएका उनले एमसीसी प्रति पनि प्रष्ट धारणा सुनाए । एमसीसी आए अमेरिकाको दादागिरी हुने, देश खत्तम हुने, वीर गोर्खालीको इज्जतमाथि दाग लाग्ने लगायतका तर्क उनले दिइरहे । हामी मज्जाले हो हो भनि समर्थन गरि रह््यौं । बुटवल देखि कपिलवस्तुको झण्डै डेढ घण्टे यात्रा मध्ये पौने घण्टा एमसीसीबारे चर्चा भयो ।

सञ्चार माध्यमको कर्म त्यसैमा मैले सामाजिक जीवनका क्रममा एमसीसीबारे चर्चा परिचर्चा सुनेको धेरै भएको थियो । आफै पनि कतिपय ठाउँमा एमसीसीबारे तर्क प्रस्तुत गरिरहेकै छु । सामाजिक सञ्जालमा पनि लेखिरहेको छु । एमसीसी राष्ट्रघाती सम्झौता हो भन्ने कुरामा एकमत रहेको म आमा र चालक सामु चुप बसे ।

म पटक पटक भन्दै आएको छु हाम्रो देशमा नागरिक छैनन्, अधिकांश दलका कार्यकर्ता छन् । एमसीसीबारे अलि जानेका बुझेकासंग तर्क वितर्क गर्दा स्वतन्त्र व्यक्ति अझै म भेट्न सकेको छैन् । एमसीसीबारे दलका नेताहरुको धारणा जे छ, बौद्धिक भनिएकाहरुको पनि धारणा उहीँ छ ।

तर, राज्यबाट सायदै केहीँ नपाएका ती निर्दोष आमा र चालक यो देशका नागरिक थिए । खुट्टामा लगाउने जुत्ता नभए पनि आमालाई देशको माया भेटिन्थ्यो । रातभर गाडी चलाउने चालकको रगत रगतमा राष्ट्रियता झल्कन्थ्यो । यी निर्दोष नागरिकलाई देश–प्रेम यति थियो कि वर्णन गर्ने शब्दै छैन् । तीन दिने काठमाडौं बसाई क्रममा होस् वा चोकचौतारा चारैतिर समाजका टाठाबाठाहरुले एमसीसीबारे धारणा राखिरहेकै भेटिए ।

समाजलाई बाटो देखाउनेहरु नै पैसामा बिक्ने गरेका उदाहरण प्रशस्तै छन् । कुनै विषयमा स्वतन्त्र धारणा बनाउने भन्दा विदेशका एजेन्ट बनि बोल्नेहरुको जमात पनि यहाँ कमि छैन् । जुन व्यक्तिबाट आशा गरिन्छ ती व्यक्ति स्वार्थी बनिरहेका छन् । रातारात धन कमाउने उद्धेश्यले सिंगो समाजमा जसो पनि गर्न तम्तयार देखिन्छन् । हामी कहाँ राष्ट्रियता केवल चुनाव जित्ने अस्त्र मात्र बन्ने गरेको छ । पटक पटक देश बेच्नेहरु सत्तामा पुगिरहेकै छन् । पुजिवादी व्यवस्थाको चुनाव केवल धनसंग प्रतिस्पर्धा छ । यसको नजिक विचार र आस्था केवल मृत शैयामा छ ।

देश बचाउने पढे, लेखेका, जान्ने बुझ्नेले नै हो । तर यो पुजीवादी समाजमा यस्ता व्यक्ति स्वार्थी भएका छन् । एमसीसीको पूरा रुप यी आमा र चालकलाई थाहा नहोला । अमेरिका पुग्न समाजका उच्च वर्गको खुट्टा उफ्राई किन हुन्छ यिनमा बुझाई कम होला । चप्पल लगाएरै यात्रा गर्दा यिनीहरुमा गर्व महसुस हुन्छ तर एमसीसीका नाममा आउने भनिएको अरबौ पैसा फिक्का । राष्ट्रियता पढे, लेखेकाबाट सुरक्षित हुने भए सिक्किम भारतमा पक्कै विलय हुने थिएन होला । राष्ट्रघात पढे, लेखेका, जाने बुझेकैबाट हुन्छ भन्ने ज्ञान यी निर्दोष आमा र चालकमा थियो ।

एमसीसीको नाममा आउने अरबौं पैसाले विकास हुन्छ भन्दै ढ्वाङ पिट्ने प्रशस्तै छन् । गरिब जीवन भएरै पनि स्वाभिमान ठूलो हो भन्ने कुरा यी आमा र चालकबाट पाउन सकिन्छ । यिनमा न अमेरिका पुग्ने सपना छ, न छोरा, न नातीलाई डिभी, पिआर भराएर पठाउने चिन्ता, न विरामी हुँदा अमेरिका पुगेर बाच्न सकिन्छ भन्ने भय । न यिनमा पैसाले संसार जितिन्छ भन्ने भावना, न यिनमा अमेरिकी मूलुक गएपछि देशको नागरिकता त्याग्ने प्रवृत्ति । केहीँ स्वार्थ भेटिन्न ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८ बुधबार ००:००  ८ : ०० बजे