५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१२ औँ कपिलवस्तु महोत्सवः ‘बुर्ज खलिफा’को झल्को, नेपालकै ठुलो स्टेज



मायादेवी अनलाइन, चारनम्बर । ‘१२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी’ मा बनाइएको स्वागतद्धार र स्टेज विशेष हुने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा चैत्र ३ देखि १३ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा हुने महोत्सवका विभिन्न आकर्षणहरुमध्ये स्वागतद्धार र स्टेज विशेष रहने भएको हो ।

महोत्सवका निर्देशक (वरिष्ठ उपाध्यक्ष, आयोजक) का अनुसार यसपटकको महोत्सवलाई नौलोपन दिनको लागि स्वागतद्धारको रुपमा युएईस्थित संसारकै अग्लो बुर्ज खलिफा टावरको नमुना बनाइएको छ । टावरले दुबईमा रहेको बुर्ज खलिफाको झल्को दिने छ ।

बुर्ज खलिफा ८२८ मिटर अर्थात् २७१७ फिट अग्लो भए पनि यहाँ बन्न लागेको टावरको उचाई ५२ फिट रहेको निर्देशक रेश्मीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । ‘लाखौँ खर्च गरेर बनाइएको स्वागतद्धारले दर्शकलाई त तान्ने नै छ सेल्फी खिच्न, टिकटक बनाउन पनि निकै आकर्षक हुने हामीले विश्वास लिएका छौँ’ रेश्मीले भन्नुभयो ।

टावरको चारैतिर झिलीमिली गरी सय भन्दा बढी लाइट बल्ने छन् भने सिंगारेर चिटिक्क बनाइदै छ । रेश्मीले दिउसोमा भन्दा साँझपख र राति यसको विशेष आकर्षण देखिने बताउनु भयो ।

यसको लागि चेन्नईबाट कालिगढ आएर रातारात काम गरेको उहाँले जानकारी दिनुभयो । आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले यो टावर दर्शकलाई निकै नौलो लाग्ने बताउनु भयो । उहाँले भन्नुभयो ’बुर्ज खलिफा हेर्न युएईमा होइन बुद्ध रंगशालामा आउनू । टिभी, फिलिममा हेरिरहनु भएको संसारकै अग्लो टावरको ढाँचा महोत्सवमा देख्न पाउनुहुने छ ।‘

निर्देशक रेश्मीले बुर्ज खलिफा टिकटकमा भाइरल बन्न लागेको बताउनु भयो । बन्दै गरेको टावरको संरचनामा पनि अपलोड गरेको केही छिनमै लाखौँले हेरी मन पराएको रेश्मीले बताउनु भयो । उसो त महोत्सव स्थलमा पुगेर टावरमा टिकटक बनाउने, फोटो र भिडियो खिच्नेको भीँड पनि सुरु भएको छ ।

यस्तै महोत्सवमा हुने नेपालकै ठुलो स्टेजले पनि चर्चा पाएको छ । सक्षम व्यवसायी, समृद्ध राष्ट्र, स्वाधिन अर्थतन्त्र भन्ने नाराका साथ सम्पन्न गर्न लागिएको महोत्सवमा विशेष आकर्षणयुक्त स्टेज बनाउन लागिएको हो । ६४ फुट लम्बाई भएको स्टेजको चौडाई २४ फुट रहेको छ ।

स्टेजको दायाँबायाँ अतिथिहरु रहने छन् भने बीचबाट कलाकारले प्रस्तुति दिने छन् । स्टेजको दायाबाया लाइट र महोत्सव ब्यानरले सजाइने निर्देशक रेश्मीले बताउनु भयो । यो स्टेजमा कलाकारले भिन्न अनुभुति बटुल्ने उहाँको विश्वास छ । स्टेजलाई रंगशालाको उत्तरतर्फ राखिएको छ ।

यसैबीच संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले महोत्सव सफल बनाउनको सबैलाई आग्रह गर्नुभयो । गर्मी भए पनि दर्शकको सुविधाको लागि पानी लगायतको ब्यवस्था गरिएकाले ढुक्क भएर आउन उहाँले आग्रह गर्नुभयो । संघका महासचिव मनोज पौडेलले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  ४ : ४२ बजे