७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माओवादी नेता पुन फलोअप उपचारका लागि चीन जाँदै



काठमाडौँ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाँदैछन्।
पुन कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने छन्।

पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा। रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।

जण्डिसको मात्रा बिलुरुबिन अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।
दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।
उपचारपछि पुन १० माघमा स्वदेश फर्किएका थिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनामा फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् ।
स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने भए पनि पुनको शरीरमा उक्त मात्रा अत्याधिक छ । पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८ शुक्रबार ००:००  ८ : ४१ बजे