२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

वडा अध्यक्षको २५ हजार तलव खान २५ लाख खर्च गर्नेलाई भोट दिन्नौँ



मायादेवी अनलाइन, चारनम्बर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा राजनैतिक दलहरुबाट भइरहेको अनावश्यक खर्चको विषयलाई लिएर कपिलवस्तुको बाणगंगाका मतदाताले प्रश्न उठाएका छन् । वडा नम्बर ४ को वडा अध्यक्ष पदमा गठबन्धनबाट चुनावमा होमिएका वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त न्यौपाने, वडा सदस्यहरु विमला श्रेष्ठ, नुर बहादुर राना, रामचन्द्र खनाल लगायतको टोलीसंग अनावश्यक चुनावी खर्चबारे मतदाताले प्रश्न उठाएका हुन् ।

शुक्रबार गजेहडा, काला बञ्जारालगायतका स्थानमा भएको घरदैलोको क्रममा सर्वसधारणले भने ‘वडा अध्यक्षको महिनाको तलव २५ हजार हुन्छ भन्ने सुन्छौँ । त्यो त एउटा ठेला चलाए पनि, २ वटा भैँसी पाले पनि कमाउन सकिन्छ । तर यहाँ त २५ । ५० लाख खर्च गर्न उम्मेदवार किन तँछाड मछाड गरिहेका छन् । यो पटक्कै राम्रो होइन । यो भ्रष्टाचार हो । तिनलाई भोट किन दिने ? दिइनँ ।’

चुनाव हत्याउन जति पनि खर्च गर्न तयार रहने उम्मेदवारलाई भ्रष्टचारीको संज्ञा दिँदै गजेहडाका एक जना युवाले भन्नुभयो ‘यिनीहरुलाई अब भोट दिन हुन्न । गत ५ बर्षसम्म जनप्रतिनिधि र दलले गरेको कामको एकएक हिसाब डायरीमा राखेका छौँ । खर्च गरेर अब कसैले चुनाव जित्छु भन्ने लाग्छ भने त्यो भ्रम हो । कुन उम्मेदवार कस्तो भनेर सबैको कुण्डली पढिरहेका छौँ । राम्रो मान्छेलाई मत दिने हो ।’

जनताको मत जितेमा जनताले आफै मत दिने भन्दै अब पनि जनता ग्वाँर छन् भनेर नसोच्न मतदाताले वडा अध्यक्षका उम्मेदवार न्यौपानेसंग सुनाए । जनताको गुनासो र कुरा सुनेपछि न्यौपानेले त्यसैको विरुद्धमा आफूहरुले कम खर्चिलो चुनाव शैली अपनाएको बताउनु भयो । आफूहरुले नेपालमै फरक तरिकाले चुनाव प्रचार गरिरहेकाले एकपटक विश्वास गरी कलममा मत खसाल्न न्यौपानेले सबैमा आग्रह गर्नुभयो । अहिले भइरहेको चुनावी खर्च पनि जनताको कर रहेको भन्दै चुनाव जिते भोलि फेरि पदबाट भ्रष्टाचार गरेर असुल्छन् भन्ने कुरामा सचेत रहन पनि मतदातालाई न्यौपानेले आग्रह गर्नुभयो ।

न्यौपानेले अब कुनै पनि समुदायका मानिस रक्सी, मासु र पैसामा विक्ने अवस्था नभएको कुरा घरदैलोको क्रममा आफूले पाएको मायादेवीसंग सुनाउनु भयो । देशभर निकै भड्किलो र खर्चिलो पाराले चुनाव प्रचार प्रसार भइरहेको सन्दर्भमा वडा नम्बर ४ मा गठबन्धनको टोलीले गरिरहेको सरल घरदैलो कार्यक्रमलाई धेरैले अहिले रुचाएका छन् । सवारी साधनको नाममा उनीहरुसंग एउटा अटो रिक्सा छ भने दिनभर हिँडेर उनीहरु हरेक मतदाताको घरमा पुग्ने गर्दछन् । मतदाताकै घरमा खाजानास्ता खाएर उनीहरुको दिन वित्ने गरेको छ । यस वडामा पनि चुनाव हत्याउन अन्य दलले भने निकै खर्च गरिरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९ शुक्रबार ००:००  ८ : ४२ बजे