८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मेयरका प्रत्यासी अर्यालको प्रतिवद्धताः सबैको साझा जनप्रतिनिधिका रुपमा काम गर्छु



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले कुनै एउटा राजनैतिक दलको उम्मेदवार भए पनि आफु निर्वाचित हुँदा राजनैतिक आस्थाका आधारमा कसैलाई विभेद नगरी सबैको साझा जनप्रतिनिधीको रुपमा काम गर्ने बताउनु भएको छ ।

घरदैलोको क्रममा नेकपा एमालेलाई मत माग्दै निर्वाचित गराएर मतदाताको भावना अनुरुप नगरकै अभिभावक बनेर समृद्ध नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मेयरमा आफुलाई मतदान गरी निर्वाचित गराउन मतदातासंग आग्रह गर्दै अर्यालले प्रचुर सम्भावना रहेको चारनम्बर क्षेत्रलाई आधुनिक शहरका रुपमा विकास गर्दै बाणगंगालाई प्रदेशकै नमुना नगरपालिकाको रुपमा विकास गर्ने स्पष्ट योजना सहित अघि बढ्ने बताउनुभयो ।

मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. ४ मा आयोजित घरदैलो तथा भेटघाटका क्रममा स्थानीयबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अर्यालले वडामा देखिएका अधुरा भौतिक पूर्वाधारका कार्यलाई निरन्तरता दिने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले सबै जात जातीका संस्कृतिको संरक्षण, प्रवर्धन गर्ने कार्यमा जोड दिने बताउदै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा योजनावद्ध कार्य सम्पादन गर्ने बताउनुभयो ।

नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्षका प्रत्यासी छवि रेश्मी मगरले लागु औषध दूब्र्यसनीको नियन्त्रण, छाडा चौपाया ब्यवस्थापन, खानेपानी ब्यवस्थापन, सडक कालो पत्रे, ढल निकास, कल्भर्ट निर्माणका कामलाई आफुले तिव्रता दिने दावी गर्नुभयो ।

घरदैलो अभियानमा नेकपा (एमाले) केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथी, एमाले नेताहरु द्रोणराज सुवेदी, सर्वेन्द्रदेव खनाल, वडा सदस्यका उम्मेद्वार चिन्कु थारु, डोलेन्द्र शाही (राजु), चन्द्रावती थारु, पवित्रा नेपाली जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, उम्मेद्वारसंगै संयौ संख्यामा उत्साहजनक सहभागिता रहेको एमाले वडा नं. ४ को निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९ शनिबार ००:००  ९ : २४ बजे