१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अमेरिकी मन्त्री उज्रा जिया नेपाल आउँदै



काठमाडौं ।

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री जिया नेपाल भ्रमणमा आउने औपचारिक जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरुको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो । विदेश उपमन्त्री जिया भारतको नयाँ दिल्ली हुँदै शुक्रबार अपरान्ह नेपाल आउने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

प्रवक्ता लम्सालले तीन दिने नेपाल भ्रमणमा अमेरिकी विदेश उपमन्त्री जियाले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेट गर्ने कार्यतालिका रहेको बताइन् । भेटमा दिव्पक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुने प्रवक्ता लम्सालको भनाइ छ ।

‘अमेरिकी विदेश विभागका नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार विषय हेर्ने उपमन्त्री उज्रा जिया आज अपरान्ह नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ तीन दिने भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको हो । प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेट गर्नुहुनेछ । उहाँले दिव्पक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुनेछ’, प्रवक्ता लम्सालको भनाइ छ ।

प्रवक्ता लम्सालले जेठ २ गते नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिव्पक्षीय वार्ता सम्पन्न भएको बताइन् ।

उनले वार्तामा नेपाल–भारत सांस्कृतिक सम्बन्ध, शैक्षिक तथा प्राज्ञिक सम्बन्ध, नेपालको विकास निर्माणमा भारतको सहयोग, हवाई सेवा, व्यापार तथा वाणिज्य सम्बन्धका साथै उर्जा क्षेत्रमा विकास र लगानीका महत्वपूर्ण छलफल भएको पनि जानकारी दिइन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ४ : २१ बजे