१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नगर प्रमुखको पदभार ग्रहण गर्दै अर्यालले भने–‘सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्छु’



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार आफ्नो मुख्य काम भएको बताएका छन् ।

शुक्रबार नगरपालिकामा पदभार ग्रहण गर्नेक्रममा पत्रकारहरुसंगको कुराकानीमा नगर प्रमुख अर्यालले सामुदायिक विद्यालयको पढाई प्रति बारम्बार प्रश्न उठ्ने गरेको भन्दै नगरबासीका छोराछोरी पढाईका लागि अन्यत्र जानुपर्ने स्थितिको अन्त्यका लागि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा काम गर्ने बताए ।

साथै उनले आफुले गर्ने प्राथमिकताका क्षेत्रबारे खुलस्त पारेका छन् । नगर प्रमुख अर्यालले भौतिक विकास पनि प्राथमिकताको क्षेत्रमा रहेको बताए । भौतिक विकास पनि विकासको प्रमुख आयाम रहेको भन्दै काम हुन नसकेको क्षेत्रमा पूर्वाधार विकास गर्ने जनाए ।

उनले स्वास्थ्य क्षेत्रलाई पनि प्रमुख प्राथमिकतामा राखेका छन् । न्यून आय भएका जनताको स्वास्थ्य समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर आफुले तत्कालै योजना बनाएर काममा लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

भूमिहिन सुकुम्बासीका समस्या समाधान पनि आफ्नो प्रमुख काम भएको उनले बताए । यसका लागि राष्ट्रिय भूमि आयोगसंग समन्वय गरि काम थाल्ने उनले बताए ।

नगरमा शुसासन कायम राख्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्ने पनि उल्लेख गरे ।

नगरबासीको अपार मायाले नगरको प्रमुखमा निर्वाचित हुने अवसर मिलेको भन्दै जनमतको सधैं सम्मान गरेर आफु अगाडी बढ्ने उनले प्रतिवद्धता जनाए । नगर उपप्रमुखमा रहदा आफुले थुप्रै ज्ञान हासिल गरेको भन्दै अब अगामी दिनमा काम गर्न सजिलो हुने उनले दाबी गरे ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ५ : ४० बजे