६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

कपिलवस्तुका मायादेवी र महाराजगञ्जमा बेरुजु बढ्यो, कृष्णनगरमा उल्लेख्य सुधार



भुपाल थापा, काठमाडौं ।
कपिलवस्तुका स्थानीय तहमा ७३ करोड रुपैयाँ बढिको बेरुजु देखिएको छ । ६ नगरपालिका र ४ गाउँपालिका गरि १० स्थानीय तह रहेको कपिलवस्तुमा स्थानीय तहहरुले गर्ने खर्चमा बार्षिक रूपमा बेरुजुको सीमा नाघ्दै गएको छ ।

महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन अनुसार कपिलवस्तु जिल्लामा मात्रै रु. ७३ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । बेरुजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधि भन्दा बाहिर गएर सीमा मिची मनपरी खर्च गर्दा कपिलवस्तुमा एउटै पालिकामा रु. १७ करोडसम्म बेरुजु निस्किएको छ ।

स्थानीय तहहरुले खर्च प्रणाली पारदर्शी नगर्ने, विधि प्रक्रियाभन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्नेजस्ता कार्यले गर्दा कपिलवस्तुका स्थानीय तहहरुमा बर्सेनी बेरुजु रकम बढ्दै गएको छ ।

जिल्लाको १० स्थानीय तहमा यो वर्ष महालेखाले कूल रु. १७ अर्ब ६७ करोड ४६ लाख ९७ हजारको लेखापरीक्षणमा रु. ७३ करोड ४७ लाख ७४ हजार बेरुजु देखाएको छ । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा कूल रु. ७३ करोड ४७ लाख ७४ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

आव ०७६/७७ मा भन्दा ०७७/७८ मा जिल्लाका पालिकाहरुमा रु. १८ करोड ४३ लाख ४१ हजार बढि बेरुजु आएको छ । आव ०७६/७७ मा जिल्लाका १० पालिकामा रु. ५५ करोड ४ लाख ३३ हजार बेरुजु आएको थियो ।

बेरुजु सबैभन्दा बढी रहने स्थानीय तहमध्ये मायादेवी गाउँपालिका र सबैभन्दा कम बेरुजु रहने शिवराज नगरपालिकामा रहेको छ । जिल्लाका सबै स्थानीय तहहरुमध्ये मायादेवी गाउँपालिकामा बढी बेरुजु देखिएको छ ।

रु. १ अर्ब ३१ करोड ७६ लाख ७० हजारको लेखापरीक्षण गर्दा रु. १७ करोड ९५ लाख ६ हजार बेरुजु देखिएको छ । समग्रमा १३.६२ प्रतिशत बेरुजु यस पालिकाको छ । मायादेवीमा ०७६/७७ मा रु. ३ करोड ६५ लाख ५० बजार बेरुजु देखिएको थियो ।

मायादेवीपछि महाराजगञ्ज नगरपालिकामा बढी बेरुजु आएको छ । रु. १ अर्ब ८१ करोड १६ लाख ६५ हजारको लेखापरीक्षण गराएको महाराजगञ्जमा रु. १६ करोड ८३ लाख ६५ हजार बेरुजु देखिएको छ । जुन ९.२९ प्रतिशत बेरुजु रहेको छ । नगरपालिकामा आव ०७५/७६ मा रु. १ करोड ५७ लाख ५३ हजार बेरुजु आएको थियो ।

रु. २ अर्व ५२ करोड ७५ लाख १८ हजारको लेखापरीक्षण गराएको बाणगंगा नगरपालिकामा रु. ११ करोड ६२ लाख ८ हजार बेरुजु देखिएको छ । यो कुल परीक्षण ४.६० प्रतिशत रहेको छ । नगरपालिकामा आव ०७५/७६ मा रु. १ करोड ६६ लाख ६० हजार बेरुजु आएको थियो ।

कृष्णनगर नगरपालिकाले बेरुजु रकम उल्लेख्य मात्रामा घटाएको छ । रु. १ अर्व ७३ करोड ५३ लाख १८ हजारको लेखापरीक्षण गर्दा नगरपालिकामा रु. ५ करोड ६७ लाख ७० लाख रकम बेरुजु देखिएको छ । जुन प्रतिशतमा ३.२७ हुन आउँछ । आव ०७५/७६ मा कृष्णनगरमा रु. २० करोड ७८ लाख ९७ हजार बेरुजु देखिएको थियो । जुन लुम्बिनी प्रदेशमै उच्च बेरुजु रकम थियो । कृष्णनगरले आव ०७६/७७ मा भन्दा ०७७/७८ मा रु. १५ करोड ११ लाख २७ हजारले बेरुजु घटाएको छ । जुन प्रशासनिक क्षेत्रमा भएको सुधार हो ।

रु. २ अर्ब ३१ करोड ४ लाख ९२ हजारको लेखापरीक्षण गराएको कपिलबस्तु नगरपालिकामा रु. ६ करोड ९० लाख ३० हजार बेरुजु देखिएको छ । यो कुल परीक्षण रकमको २.९९ प्रतिशत हो । जुन आव ०७५/७६ मा भन्दा रु. ११ करोड ९० लाख १९ हजारको बेरुजु रहेको थियो ।

बुद्धभूमि नगरपालिकामा कूल रु. १ अर्व ९९ करोड १२ लाख ८५ हजारको लेखापरीक्षण गराएकोमा रु. ५ करोड २२ लाख १ हजार बेरुजु देखिएको छ । नगरपालिकाले आव ०७६/७७ मा रु. १ अर्व ४३ करोड ६ लाख १४ हजारको लेखापरीक्षण गर्दा तीन करोड ८६ लाख ७४ हजार बेरुजु देखिएको थियो ।

कूल रु. २ अर्ब १४ करोड ७ लाख ४१ हजारको लेखापरीक्षण गराएको शिवराज नगरपालिकामा रु. १ करोड ९५ लाख ५५ हजार बेरुजु देखिएको छ । आव ०७६/७७ मा रु. १ अर्ब ६४ करोड ९४ लाख १ हजारको परीक्षण गराउँदा शिवराजमा रु. ८२ लाख ४४ हजार बेरुजु देखिएको थियो ।

रु. १ अर्ब २३ करोड ५ लाख ९५ हजारको लेखापरीक्षण गराएको यशोधरा गाउँपालिकामा रु. २ करोड ३४ लाख ८३ हजार बेरुजु देखिएको छ । आव ०७६/७७ मा रु. ७२ करोड ७१ लाख ७३ हजारको परीक्षण गराउँदा यशोधरामा रु. ४ करोड ७० लाख ९६ हजार बेरुजु देखिएको थियो ।

बिजयनगर गाउँपालिकामा रु. ३ करोड ४१ लाख ३९ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले रु. १ अर्ब ३३ करोड ९७ लाख ३३ हजारको परीक्षण गराएको थियो । ०७६/७७ मा भन्दा ०७७/७८ मा गाउँपालिकामा रु. १ करोड ४४ लाख ६६ हजार रकम कम बेरुजु देखिएको छ ।

रु. १ अर्ब २६ करोड ९६ लाख ८० हजारको परीक्षण गराएको शुद्धोधन गाउँपालिकामा रु. १ करोड ५५ लाख १७ हजार बेरुजु देखिएको छ । जुन आव ०७६/७७ भन्दा रु. ३४ लाख ८३ हजारले बढी हो ।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ६ : ४० बजे