२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मायादेवी गाउँपालिकामा ज्ञापनपत्रको चाङ, स्वयंसेवक शिक्षक पनि करारका कर्मचारी हटाउने विरुद्ध उत्रे



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा ज्ञापनपत्रको चाङ लाग्न थालेको छ ।

पालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेसंगै यसको समर्थन र विरोधमा दिनानुदिन ज्ञापनपत्र पेश भइरहेका छन् ।

मंगलबार मात्र स्वयंसेवक शिक्षकको म्याद थप नगर्ने निर्णयका विरुद्ध स्वयंसेवक शिक्षक संरक्षण समिति विरोधमा उत्रिएको छ ।

उक्त निर्णयलाई सच्याउनका लागि स्वयंसेवक शिक्षक संरक्षण समिति मायादेवी गाउँपालिकाका अध्यक्ष सुनिल कुमार पाण्डे, सचिव विरेन्द्र यादवले हस्ताक्षरसहित शिक्षकहरुको सहभागीतामा गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानलाई ज्ञापनपत्र बुझाएका छन् ।

स्वयंसेवक शिक्षकहरु न्यून तलब भत्तामा बिहान देखि बेलुकासम्म काम खटिदै आएको भन्दै साउन १ गते देखि हटाउने निर्णयले मारमा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

देशमा बेरोजगारीको समस्या यथावत रहेको, स्वयंसेवक शिक्षकहरुलाई प्रोत्साहन गर्नुको साटो झन बेरोजगार बनाउने कार्यको थालनी गरेकोमा घोर भत्र्सना गर्दै यथाशीघ्र सो निर्णय फिर्ता लिई शिक्षकहरुलाई विद्यालयमा हाजिर गराई कामकाजमा खटाउने वातावरण निर्माण गर्न उनीहरुले माग गरेका छन् ।

प्रेस विज्ञप्तिमा आफ्नो मागलाई बेवास्ता गरिएको खण्डमा चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

करारका कर्मचारी हटाउने निर्णय विरुद्ध यसभन्दा अगाडी जसपा नेपालबाट निर्वाचित ४ जना वडाध्यक्षले पालिकासंग संघर्ष गरिरहेका छन् । यस्तै निर्णयको स्वागत गर्दै बेरोजगार युवाहरुले पालिकालाई साथ दिएका छन् ।

कर्मचारी हटाउने निर्णयमा राजनीति खिचातानी जोडिदा यो विषय झनै पेचिलो बनेको छ । यसभन्दा अगाडी पालिकाको नेतृत्व जसपाले गरेको थियो भने अहिले कांग्रेसले गरेको छ । जसपाको सत्ता हुँदा नियुक्त गरेका कर्मचारी हटाउने अहिलेको सत्ताले निर्णय गरेपछि जसपाका नेता, उसका समर्थक र शुभचिन्तक विरोधमा उत्रिरहेका छन् ।

यो पनि पढ्नुहोस्

मायादेवी गाउँपालिकाका बेरोजगार युवाहरुले भनेः करारका कर्मचारी हटाउनू जायज

करारका कर्मचारी हटाउने निर्णय विरुद्ध मायादेवी गाउँपालिकाका वडाध्यक्ष नै विरोधमा उत्रिए

कपिलवस्तुको मायादेवी गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटायो

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ६ : ३३ बजे