१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

यशोधरा गाउँपालिका अध्यक्ष तिवारी बाणगंगाका नगर प्रमुख अर्यालसंग विशेष छलफलमा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाका अध्यक्ष लगायतको टोलीले बाणगंगा नगरपालिकाका जनप्रतिनिधीसंग मंगलबार भेटघाट गरेको छ ।

गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीसहितको टोली बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालसंग छलफलका लागि आएको हो । यशोधरा गाउँपालिकाको समग्र विकासमा टेवा पु¥याउन अन्य पालिकाले गरेका राम्रा कामहरुको सिकाईका लागि गाउँपालिका अध्यक्ष तिवारी बाणगंगामा आउनु भएको हो ।

अध्यक्ष तिवारीले बाणगंगा नगरपालिकाले गरेका राम्रा अभ्यास, विकास निर्माण र आगामी योजनाको बारेमा नगरपालिकाका प्रमुख अर्यालसंग छलफल गर्नुभएको छ ।

पछिल्लो समय छाडा चौपायाको समस्या गाउँपालिकामा देखिए पछि वाणगंगा नगरपालिकाले यसको व्यवस्थापनमा गरेका अभ्यासबारे टोलीले जानकारी लिएको छ ।

यशोधरा गाउँपालिकामा छाडा चौपायाको समस्या दिनानुदिन बढ्दै जानु र यसको व्यवस्थापनमा कठिनाई आएपछि के कसरी व्यवस्थापन गरिरहेको छ भनेर बाणगंगा नगरपालिकाको अनुभवबारे जानकारी लिएको बताइएको छ ।

बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरको समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले नगरपालिकाले योजनाबद्ध तरिकाले छाडा चौपायाको व्यवस्थापनको काम शुरु गरिरहेको बताउनुभयो ।

उहाँले गौशालाको अवधारणामा नगरले डिपिआर तयार गरी योजनाबद्ध व्यवस्थापनको काम शुरुवात गरेको बताउनुभयो । उहाँले अबको केही वर्षमै छाडा चौपायालाई व्यवस्थापन गर्दै बहुउपयोगको नीतिअनुसार नगरले व्यवस्थापन गर्ने तयारी गरिरहेको बताउनुभयो ।

पूर्व पश्चिम राजमार्ग र जंगलको आसपासमा अन्यत्रबाट गाई गोरु ल्याएर छोड्दिदा नगरमा यसको बढी समस्या देखिएको बताउँदै नगर भित्र र वाहिरका सवैको पहिचान हुने गरी छाडा चौपायाको व्यवस्थापन गर्ने योजना रहेको प्रमुख अर्यालले सुनाउनुभयो ।

उहाँले नगरको विकासको योजना, जनसहभागीता, सुशासन र पारदर्शीताबाट समृद्ध नगरको परिकल्पना साकार बनाउने गरी आफूले काम गरिरहेको बताउनुभयो । छलफल कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले पालिका पालिका बीचको समन्वय र सहकार्यको अभावले विकासले गति लिन नसकेको बताउनुभयो ।

अध्यक्ष शर्माले पालिका पालिका बीचको नियमित भेटघाट र छलफलले विकासमा सहजता आउने साथै यसका लागि जिल्ला समन्वय समिति कपिलवस्तुले आवश्यक योजनासहित अगुवाई गर्नुपर्ने बताउनुभयो ।

छलफलमा नेकपा एमाले यशोधरा गाउँ कमिटी सचिव तथा समाजसेवी राजेन्द्र प्रसाद मौर्य, अब्दुल अजिज मुसलमान, रामविलास पासी, कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, बाणगंगा नगरपालिकाका प्रशासकीय अधिकृत केशवराज भट्टराई, योजना शाखा प्रमुख शान्ताराज आचार्य लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९ बुधबार ००:००  ६ : ३५ बजे