११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

‘आदर्श बोकेको राजनीति अब टर्च बालेर खोज्नु पर्ने भयो’



चन्द्रकान्त न्यौपाने ।
नेपाली कांग्रेस आफैभित्र विभिन्न विवाद विवादमा रुमल्लिएको छ । कांग्रेसभित्रकै संगठन बलियो बन्न सकेको छैन । गुट उपगुटले एउटा प्रश्रय पाएको छ । कांग्रेसभित्रको झांगिदो गुटका कारण कतिपयले पार्टी विभाजन हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । मंसिरमा हुने चुनावको तालमेल, सबै कम्युनिष्टलाई मिलाएर लान सक्ने क्षमता र यसको औचित्यमाथि कांग्रेसभित्रैका नेताहरुको बुझाई कस्तो छ ? यी र यस्तै विषयमा नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायसँग चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

चुनावको माहोल तातेको बेला तपाईले कसरी हेर्दै हुनुहुन्छ, चुनावी रस्साकस्सीलाई ?

आ–आफ्नो सोचाई हो । समयको अगाडी कसैको केही चल्दैन । शक्तिशाली नेताहरूले यसो त्यसो भन्छन् । तर त्यसो हुँदैन । त्यसैले हामी त्यति धेरै आसक्त नै भनेर यही भनेर लागेको छैन । गठबन्धन भनेको छन् । तर यसको रूप के हुने हो लक्ष्य, परिणाम के हो भन्ने चिन्ता छ । अर्को मेरो क्षेत्रमा अघिल्लो पटक नेकपा माओवादी केन्द्र र एमाले मिलेर लड्दा थोरै मतले म पराजित भएको थिएँ । त्यसमा काँग्रेसका असन्तुष्ट्रहरुको पनि ठूलो भूमिका थियो । अहिले निर्वाचन पनि जिल्लामा नै बसेको छु । जिल्लाबाट अत्यन्तै कार्यकर्ता, आम जनताहरूको दबाब छ । २०२५ साल देखि निरन्तर चुनाव लडेको हारे पनि जिते पनि मूल्यमान्यता र नैतिकता, इमानको ख्याल गरेर आजीवन अगाडि बढैको मान्छे हो म ।

बहुदलपछि लगातार चुनाव लडिरहनु भएको छ, अब विश्राम लिने, अरुलाई पालो दिउँ भन्ने लाग्दैन र ?

म आध्यात्मिक चिन्तनमा नै रमाउँछु । यसपाली मैले पार्टीको निर्वाचनमा पनि भाग लिइन । किनभने हामी ७० कटेको मान्छे हटेर युवालाई ठाउँ दिनु पर्दछ । आदर्श मूल्य मान्यताको राजनीति अब टर्च बालेर खोज्नु पर्ने भयो । कांग्रेस भन्दा त को होस भन्ने अवस्था आईसक्यो । अब युवाको पालो हो । युवाहरुलाई अवसर दिनुपर्छ ।

तपाईंको चुनावी क्षेत्रमा गठबन्धनले गर्दा सकस होला जस्तो छ नि र ?

पहिला छ २०७४ मा निर्वाचन क्षेत्र नं. १ माओवादीले जित्यो त्यो ठाउँमा पहिलो अधिकार माओवादीको हो । जितेको नाताले तर कसरी जित्यो त्योमा पनि भर गर्दछ । चुनाव जित्नको लागि पार्टीको निर्णयले मात्र त जितिँदैन । तर कार्यकर्ता र जनताको महत्वपूर्ण भूमिका छ । त्यसैले मलाई यो हुनै पर्दछ भन्ने छैन । कसैको मन दुखाएर अरू जस्तो विद्रोह गरेर जान सकिँदैन । जबसम्म जनतासामु बस्छु सेवा गर्छु भनेर आएको हुँ म ।

तपाईंले यसपटक पनि टिकट पाउनु भयो भने जिल्लाको विकासमा के एजेन्डा छन् ?

शिक्षा र स्वास्थ्यमा केही विकास गर्न मन छ । रोजगारी बढाउने, विदेश नै जाने मान्छेहरूमा पनि सुरक्षाका साथ धेरै कमाउने गरी पठाउने योजना छ ।

सत्ता गठबन्धन र कांग्रेसको भूमिकाप्रति तपाईको धारणा के छ ?

यतार्थ र सत्यता पूर्वक योजना गरेर जानु पर्दछ । केपी ओलीले दम्भ नदेखाएर आफ्नो पार्टीलाई राम्रोसँग सन्तुलनमा राखेर सञ्चालन गरेको भए पाँच वर्ष उहाँहरूले शासन गर्ने र परिणाम गर्ने दिने हो । राम्रो नराम्रो जे भए पनि त्यसको आधारमा पो निर्वाचनमा योजनाहरू बन्थे । तर त्यो गर्नु भएन । सुशासनको कुरामा प्रस्ट हुनु पर्यो । त्यसको लागि यो गठबन्धनले ५ वर्षको मार्गचित्र बनाएर जान्छ भने राम्रो होला । नभए त्यसले जताततै अश्लीलता ल्याउँछ । त्यसलाई कसरी म्यानेज गर्ने ? त्यसको लागि प्रतिपक्षको रणनीति त आफ्नो पार्टीको सुरक्षा गरे पनि प्रश्न गर्ने कोही छैन ।

यसमा पार्टी स्भापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीति तथा भूमिकाप्रति तपाईंको टिप्पणी के छ ?

गठबन्धनको उम्मेदवार हराउन सके आफू जित्ने । नभए जसले जित्छ, त्यसलाई सहयोग गर्ने उहाँको रणनीति हो ।

शेखर कोइराला पक्षले ४० प्रतिशत हिस्सा माग गरेपछि कांग्रेस फूटतर्फ अग्रसर भएको हो ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । यसले चुनावमा कांग्रेसलाई धक्का दिन्छ होला नि त ?

म विशुद्ध कांग्रेस हो । कुनै पक्षमा हैन । दुवै पक्षको कमजोरी छ । शेर बहादुरको पनि यो अन्तिम अवसर हो । एउटा अभिभावकत्व भूमिका राखेर समग्र कांग्रेसलाई मिलाउने हो भने यो गुटको कुरा आउँदैनथ्यो । नैतिकता मूल्य मान्यताको विनियोजनले गरेर सबै पार्टी आफ्नै कारणले टुटेका छन् । हाम्रो निर्णय कसरी नमान्ने जनताले कार्यकर्ताले भन्ने हो भने त्यो चल्ने वाला छैन । जनताले आफ्नो इच्छाले मत हाल्न सकुन् । नेताहरूमा चाँडो चेतना आओस् । यो अन्तिम मौका हो ।

देउवा सरकारको एक वर्षलाई तपाईंले कसरी समीक्षा गर्नु भएको छ ?

गठबन्धनको सरकार हो । यसको आफ्नै नीतिहरू छन् । सुरक्षा नीति र परराष्ट्र नीतिहरूमा हामीले पनि सिन गर्न थाल्यौ भने अन्तर्राष्ट्रिय राजनीतिमा धेरै किसिमको तरलता संवेदनशीलताका कारण एउटा द्वन्द्वको आधारमा नेपाल पर्न सक्छ । त्यसको लागि जसमा दक्षता क्षमता भएका व्यक्तिहरू राखेर छलफल गर्नु पर्दछ । यसमा विदेशीहरूलाई दोष दिनु हुँदैन । किनभने आफुले पानी धमिलो बनाए पछि माछा मार्न जो पनि आउँछ । यो अपरिपक्व कूटनीतिको प्रभाव हो । यसलाई अब सच्याउनु पर्दछ भन्छौ । आचारसंहिता त बनेको छ । तर कार्यान्वयन भएको छैन । कूटनीति त सबै नेताहरूको लागि सबै हुनु पर्ने हो । तर त्यो फरक फरक भयो ।

नेपाली नेताहरु प्राय चुनावका लागि विदेश जाने क्रम बढ्छ नि ? यो भनेको विदेशीको स्वार्थमा नेताहरु चुनाव लड्ने र एजेन्डा बनाउने गर्छन् हो ?

नेताहरू कोही उपचारको लागि जान्छन् । त्यसलाई त्यसरी लिनु हुँदैन । मूल कुरो भनेको आफूमा आफू स्पष्ट हुनु पर्यो । सार्वजनिक हुनु पर्यो । नभए त्यसको सजाय भोग्नु पर्दछ । जनताले दिन्छन् ।

प्रकाशित मिति : १ भाद्र २०७९ बुधबार ००:००  ८ : ०८ बजे