१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एक्लो सचिवको भरमा एक वडा कार्यालय, सेवाप्रवाहमा असहज भएको वडाध्यक्षको गुनासो



मायादेवी अनलाइन, कृष्णनगर ।
लुम्बिनी प्रदेशको प्रमुख भन्सार नाका रहेको र शहरीकरण तर्फ जादै गरेको बजार हो कृष्णनगर । नेपाल भारत आउजाउ हुने व्यापारिक केन्द्र बन्दै गएको कृष्णनगरका जनता भने नगरपालिका कै कारण समस्या झेल्दै आएका छन् ।

नगरपालिकाले चासो नदिँदा २ नम्बर वडाका जनता सामान्य कामको लागि तीन ÷चार दिन धाउनु परेको छ ।

कृष्णनगर नगरपालिकाको बजार क्षेत्रको वडा कार्यालयमा वडा सचिव एक्लो कर्मचारी भए पछि स्थानीय जनताले सेवा लिन जादाँ पटक पटक धाउनु परेको छ ।

वडा कार्यालय सचिवको भरमा मात्र चले पछि सेवा लिनका लागि दुई/तीन दिन सम्म धाउनु पर्ने बाध्यता भएको छ ।

वडा कार्यालयमा नगरपालिकाले थप कर्मचारी नखटाउदा सबै कामको सचिव माथि परेको छ । कार्यालयमा कार्यालय सहयोगी समेत छैनन् ।

काजजात खोज्ने, घटना दर्ता गर्ने, राजश्व, मालपोत लिने जस्ता सबै काम सचिव एक्लैले गर्नु परेको वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।

अरु वडामा कार्यालय सहायक, सामाजिक परिचालकको व्यवस्था रहेको छ । पालिकाको सबै भन्दा धेरै जनघनत्व भएको कृष्णनगर बजार क्षेत्र भएको वडामा पालिकाले कर्मचारी खटाउन बेवास्था गरेको वडा अध्यक्ष गुप्ताको गुनासो छ ।

नगरपालिकाले बैठक राख्दा कार्यालय बन्द गरी जानु पर्ने बाध्यता रहेको वडा सचिव सुनिल बहादुर यादवले बताउँछन् ।

पालिकाको काम काज सफ्टवेयर प्रणालीमा नहुँदा ढड्डा (पुराना कागजात भएको रजिस्टर) खोज्नु पर्ने बाध्यता रहेको छ ।

राजस्व काट्दा, मालपोत दस्तुर लिँदा फाइल खोज्नु पर्दा एउटै कामको लागि घण्टौ कुर्नु पर्ने बाध्यता रहेका यादव बताउनु हुन्छ । सेवाग्राही धेरै भएको वडामा सचिव मात्र कर्मचारी हुँदा एउटै कामको लागि पटक पटक धाउनु परेको स्थानीय बन्टी जयसवालले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७९ आइतबार ००:००  १० : ०३ बजे