६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

विद्यार्थीको भविष्यमाथि एमाले–कांग्रेसको गम्भीर खेलवाड



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु शिवराज नगरपालिकामा एमाले-कांग्रेसको मोर्चाबन्दीले विद्यार्थीको जीवनमाथि नै खेलवाड भएको पाइएको छ ।

नगर प्रमुख अजय थापालाई असफल पार्ने गरी गरिएको एमाले-कांग्रेसको मोर्चाबन्दीले विद्यार्थीको जीवनमाथि प्रत्यक्ष असर पुगेको हो । थापा राप्रपाबाट निर्वाचित भएका नगर प्रमुख हुन् ।

धेरै कुरामा एमाले-कांग्रेस बीच विमति रहदै आए पनि यहाँ नगर प्रमुख थापा विरुद्धको मार्चाबन्दीमा दुवै दल एक हुने गरेका छन् ।

नगर प्रमुख थापाले गएको आइतबारको कार्यापालिका बैठकमा धानखोला लगायत टाढाबाट आउने विद्यार्थीलाई यातायात सेवा उपलब्ध गराउने प्रस्ताव गरेका थिए । तर, उक्त प्रस्ताव मेयरले लिएर आएकै कारण एमाले-कांग्रेसका कार्यापालिका सदस्यले अस्विकृत गरे ।

धानखोला लगायतका ठाउँबाट विद्यार्थीलाई विद्यालय आउन असहज छ । मेयर थापाले त्यस्ता विद्यार्थीलाई यातायात सेवा उपलब्ध गराउने प्रस्ताव कार्यपालिका बैठकमा लगेका थिए ।

तर, उक्त प्रस्ताव कार्यापालिकाबाटै बहुमतले अस्विकृत भएको हो । धानखोलाबाट ६०–७० जना विद्यार्थी जागृती प्रावि बनकसाबासा, रेन्जर पोष्टको सरस्वती निमावी र नेपाल आर्दश माविमा अध्ययनका लागि आउने गर्दछन् ।

उनीहरुलाई यातायातका कारण विद्यालयमा आउन समस्या हुने गरेको छ । बर्खाको समयमा विभिन्न जोखिम मोलेर उनीहरु विद्यालय आउने गर्दछन् ।

दुर्गम भेगका विद्यार्थीको सुविधाका लागि ल्याएको प्रस्तावमाथि राजनीति भए पछि दर्जनौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।

विद्यार्थीको लागि भनेरै बस चलाउने योजनामा थिए, तर अनावश्यक राजनीतिकरण गरियो, नगर प्रमुख थापाले भने, ‘राजनीति कस्का लागि हो भन्ने कुराको पुष्टाई साथीहरुले सम्बन्धित क्षेत्रका नागरिकलाई पक्कै दिनुपर्ला ।’

पवित्र भावनाका साथ बस चलाउने प्रस्ताव कार्यापालिका बैठकमा लगेको थापाले बताए ।

‘धानखोला नगरभित्रको सबैभन्दा दुर्गम भेग हो । यहाँका विद्यार्थीलाई पढ्नका लागि असाध्यै समस्या छ । गरिबीको कारण कयौं विद्यार्थी विद्यालयको पहुँच बाहिर छन् । कमसेकम नगरले यातायातको सुविधा दिन सके विद्यार्थीको ज्ञानको ज्योतीमा मुहार झल्काउन सकिन्थ्यो भन्ने मेरो भावना थियो, तर साथीहरुले यसको प्रभाव नहेरि राजनीतिकरण गरे,’ नगर प्रमुख थापाले भने ।

प्रकाशित मिति : ८ कार्तिक २०७९ मंगलबार ००:००  १ : ४० बजे