१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा



कपिलवस्तु ।

कपिलवस्तु जिल्लामा पुराना प्रतिस्पर्धी मैदानमा गएका छन् । २०६४ सालदेखि जित्ने आएका उम्मेदवार आफ्नो खास जोगाउने रणनीतिमा छन् । पटक पटक मैदानमा जाँदै पराजित भएकाहरू अहिले खोस्ने रणनीतिमा हुँदा जिल्लाको चुनाव थप रोचक बन्दै गएको छ ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा चक्रपाणि खनाल (बलदेव), क्षेत्र नम्बर २ मा अभिषेक प्रताप शाह र क्षेत्र नम्बर ३ मा वृजेश कुमार गुप्तालाई अहिले आफ्नो खास जोगाउन चिन्ता रहेको छन् । खनाल २०७४ सालमा बाम गठबन्धनबाट विजयी भएका थिए । अहिले उनी नेपाली काँग्रेससहित सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । अभिषेक प्रताप शाह र वृजेश कुमार गुप्ता २०६४ सालदेखि विभिन्न दल परिवर्तन गर्दे लगातार चुनाव जित्दै आएका छन् ।

कसलाई कस्तो चुनौती ?

खनाल र अधिकारी : २०७४ सालमा सँगै अहिले प्रतिस्पर्धी

क्षेत्र नम्बर १ सत्ता गठबन्धनबाट माओवादी १ मा चक्रपाणि खनाललाई एमाले बलराम अधिकारीले चुनौती दिएका छन् । खनालले २०७४ सालमा बाम गठबन्धन हुँदा उनै अधिकारीले सहयोग निर्वाचन जितेका थिए । खनाललाई कृषि मन्त्री बन्दा आफ्नो क्षेत्रमा ध्यान नदिएको भन्दै एमालेका अधिकारी मतदाता माझ पुगेका छन् भने खनालले विगतमा गरेका कामको जस दिँदै गर्न नसकेका कामहरू अहिले पुरा गर्ने भन्दै मतदाता माझ पुगेका छन् ।

गत निर्वाचनमा खनालले २९ हजार ७९९ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए । दुवै जना ‘हेभिवेट’ नेता भएकोले यो पटक सत्ता गठबन्धनमा पोल्टामा (बलदेव) खनालको परेपछि उपाध्याय रुष्ट रहेको बताइन्छ । कपिलवस्तु १ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वार्ड अध्यक्षहरूले पाएको मतको आधारमा काँग्रेसको २८ हजार २७१, एमालेको २६ हजार ८२३,जसपाको १३ हजार ५१०, माओवादीको ९ हजार ३३८, नेकपा एसको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, मत रहेको छ ।

गुप्ता दल परिवर्तन गर्दै जित्दै, आचार्य खोस्ने रणनीतिमा

कपिलवस्तुको २ नम्बर क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता र नेपाली काँग्रेसका सुरेन्द्र राज आचार्य मैदानमा रहेका छन् । २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर पनि सूर्य चिह्नबाट गुप्ता र काँग्रेसका आचार्य बिच नै प्रतिस्पर्धा भएको थियो ।

लगातार ४ पटक जितेर जिल्लामा आफ्नो वर्चस्व जमाएका गुप्ता गत चैत महिनामा एमाले प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट मैदानमा गएका आचार्य नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री हुन् । गत निर्वाचनमा पनि गुप्ता र आचार्यको प्रतिस्पर्धा हुँदा झन्डै ४ हजार मतको अन्तरमा गुप्ता विजयी भएका थिए । गुप्ताले ३५ हजार १२७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । गुप्ताले २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर जिल्लामा एकछत्र दबदबा कायम राख्दै आएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वार्ड अध्यक्षहरू पाएको मतको आधारमा नेपाली काँग्रेस अगाडि देखिन्छ । कपिलवस्तु २ मा काँग्रेसको ३० हजार ९९८,एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादीको ४ हजार ४५९, राप्रपाको २ हजार ३५, एसको ६९१ मत रहेको छ ।

शाह र गुप्ता सदाबहार प्रतिस्पर्धी

कपिलवस्तुमा क्षेत्र नम्बर ३ मा फोरमबाट २०६४ सालमा चुनाव जितेका अभिषेक प्रताप शाह २०७० सालदेखि नेपाली काङ्ग्रेसबाट जित्दै आएका छन् । शाहसँग भिड्ने मङ्गलप्रसाद गुप्ता पनि पुरानो प्रतिस्पर्धी हुन् । गुप्ता पनि पार्टी परिवर्तन गर्दे लगातार मैदान जाने नेता हुन् । २०७४ सालमा गुप्ता तत्कालीन सङ्घीय समाजवादी फोरम (हाल जसपा) बाट उम्मेदवार बनेको थिए । साहले १९ हजार ८६४ मतका साथ विजयी हुँदा गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए । मङ्गल गुप्ताले आफ्नो क्षेत्रमा एमालेको सङ्गठन राम्रो देखेर पार्टी प्रवेश गरेका गर्दै फेरी शाहलाई टक्कर दिएका छन् ।

तुलनात्मक रूपमा जसपाभन्दा एमाले सङ्गठन बलियो भए पनि यहाँ शाह र गुप्ता बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । हालै सम्पन्न स्थानीय तहमा वार्ड अध्यक्षहरू पाएको मतको आधारमा कपिलवस्तु ३ मा एमालेको १८ हजार ७४७, काँग्रेसको १५ हजार ७७०, जसपाको ९ हजार ९७४, माओवादीको ६ हजार ८४४, राप्रपाको ६ हजार ७४, लोसपाको ४ हजार ६७५, एसको १ हजार ९८६ मत रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९ आइतबार ००:००  ७ : २४ बजे