१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मेयर अर्याल भन्छन्ः आर्थिक संकट टार्न बाणगंगाका सहकारीको अहम भूमिका



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले अहिलेको आर्थिक संकटलाई सहकारीले टार्ने काम गरेको बताएका छन् ।

सहकारीमा आवद्ध शेयर सदस्यलाई ठूला वित्तिय संस्थामा देखिएको आर्थिक मन्दीले खासै असर नगरेको उनले दाबी गरे ।

श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभामा बोल्दै उनले आर्थिक मन्दीले सहकारीको निक्षेपमा असर गरे पनि आर्थिक संकट हुनबाट भने बचाएको उनको तर्क थियो ।

बाणगंगामा नगर भित्र सहकारीको लगानी दुई अरब बढी रहेको उनले बताए । नगर भित्रका ठूला वित्तिय संस्थासंग यहाँका सहकारीले प्रतिस्पर्धा गर्न सकेको भन्दै संचित लगानीको परिचालन र यसको संरक्षणको दायित्व नगरको भएको उनले बताए ।

सहकारीलाई व्यवस्थित बनाउन नगरपालिकाले हरेक एक बर्षमा दुई पटक अनुगमन गर्दै आएको बताए । सहकारीका शेयर सदस्यको रकम संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले ढुक्क भएर सहकारीमा जोडिन उनले आग्रह गरे ।

बाणगंगामा ६० वटा सहकारी रहेको भन्दै उस्तै प्रकृतिका सहकारी मर्जरमा जानुपर्नेमा उनले जोड दिए ।

‘समान उद्धेश्यका सहकारी धेरै बनाउनुको अर्थ छैन् । पूजी छरिदा लगानी देखिदैन्, अब उस्तै प्रकृतिका सहकारीलाई एकीकृत गरौ, मेयर अर्यालले भने,’ ‘सहकारीका धेरै चुलोचौको बालिरहन आवश्यक छैन् ।’

नगर भित्रका सहकारीले कृषि, पशुपालनको क्षेत्रमा लगानी लगाउनुपर्नेमा उनको जोड थियो । सहकारीले उत्पादनको क्षेत्रमा लगानी बढाए मात्र नगर समृद्ध बन्ने उनको बुझाई छ ।

नगरले सहकारीलाई आर्थिक मेरुदण्डका रुपमा परिचालन गर्न चाहेको उनको बताए । सहकारीलाई व्यवस्थित बनाउनका लागि नगरले ऐन, नियम र विनियम अनुसार सहकारी सन्चालन भएका छन् की छैनन् भनेर हेरिरहेको उनले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचार्यले सहकारी शेयर सदस्यको भावना अनुसार चल्नुपर्नेमा जोड दिए । सहकारीले धेरै राम्रा काम गरेको भन्दै केही सहकारीले गरेका नराम्रा कामको प्रचार मात्र हुने गरेको भन्दै गुनासो गरे । सरकारले सहकारीलाई नियन्त्रण मात्र गर्न खाजेको भन्दै सहकारी प्रति हेर्ने दृष्टिकोण फरक हुनुपर्ने उनले बताए ।

सोही अवसरमा उद्योग, व्यापार संघ कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेल, वडा नं. १ की वडा सदस्य टोपकला विसी लगायतले साधारण सभाको शुभकामना दिएका थिए ।

रामप्रसाद गैरेको अध्यक्षतामा भएको साधारण सभाको खुल्ला सत्रको सन्चाल सहकारीका सचिव खिमानन्द पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७९ शुक्रबार ००:००  ३ : २७ बजे