१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवालाई आत्मनिर्भर बनाउँदै सिड्स परियोजना



मायादेवी अनलाइन, बाणगंगा ।
३० बर्षीय निरज गाहा रोजगारीको चक्करमा भारत पस्नुभयो । एसएलसी उत्रीर्ण गाहा स्वदेशमा कुनै विकल्प नदेखे पछि रोजगारीका लागि भारत जानुभएको हो ।

हुर्कदो उमेरसंगै बढ्दो पारिवारीक जिम्मेवारीले चाप्दै लगेपछि कपिलवस्तु बाणगंगा १० पटना निवासी गाहा बाध्यताले भारत जानूभएको थियो । आफूसंग कुनै सीप नभए पछि उहाँको भारत बसाई लामो समय टिक्न सकेन् ।

विश्वभर कोरोना भाइरस महामारीको संन्त्रासले उहाँको रोजगारी गुम्यो । रित्तो हात गाउँ फर्कनु भएका गाहा अब कसरी जीवनयापन सन्चालन गर्ने चिन्तामा हुनुहुन्थ्यो । यहीँ बीचमा सिद्धार्थ सामाजिक विकास केन्द्रबाट सन्चालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण परियोजना (सिड्स) को सम्पर्कमा रहनुभयो ।

स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा सन्चालित सिड्स परियोजनाले उहाँलाई स्वरोजगार बनाउने गरी तीन महिने मोटरसाइकल मर्मतको तालिम दियो । उक्त तालिम सक्रियतापूर्वक लिनुभएका गाहालाई अन्ततः यहीँ तालिम स्वरोजगारको माध्यम बन्यो ।

तालिमको राम्रो उपयोग गर्न सफल गाहा काममा दक्ष बन्दै जानुभयो । सानो लगानीमा आफ्नै व्यवसाय सन्चालन गर्ने उद्धेश्य राख्नुभएका गाहाले बाणगंगा १० पटना गाउँमा मोटरसाइकल मर्मतको पसल सन्चालन गर्नुभयो ।

दुई लाख लगानीमा थाल्नुभएको उक्त व्यवसायमा सिड्सबाट थप ४० हजार नगद सहयोग प्राप्त गर्नुभयो । तालिमसंगै नगद सहयोग पाएर मोटरसाइकल मर्मतको व्यवसाय सन्चालन गर्नुभएका गाहा स्वरोजगार मात्र बन्नुभएको छैन् ५ जना घरपरिवार यहीँ पेशाबाट पाल्न सक्ने हुनुभएको छ ।

मासिक १५/२० हजार कमाउँदै आउनुभएका गाहा दक्ष मोटरसाइकल मिस्त्रि बन्नुभएको छ । आफ्नै घर नजिकै पसल सन्चालन गर्नुभएका गाहालाई अब कुनै समस्या छैन् । जुनसुकै स्थानमा मोटरसाइकल मर्मत गरेर जीवननिर्वाह गर्न सक्ने उहाँ हुनुभएको छ ।

राम्रो अवसर पाए युवाले जे पनि गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ गाहा । सिड्स परियोजनाले त्यस क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई यस्तै यस्तै तालिम प्रदान गरी व्यवासायिक बनाउँदै लगेको छ ।

बाणगंगा नगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको पटनामा सिड्स परियोजना मेहनती तर बेरोजगारका लागि सहारा बन्दै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  २ : ४४ बजे