३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

‘समान अनुभूतिको सिद्धान्त’ आत्मसाथ गर्दै पत्रकारिता गर्न आग्रह



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता सम्बन्धी जानकारी गराइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । आफूले लेख्ने समाचार आफ्नै विषयमा आए कस्तो अनुभूति हुन्छ भन्ने मर्म बुझेर विवेकपूर्ण ढंगले समाचार लेख्न सके आचारसंहिता स्वतः पालना हुने उहाँको भनाइ थियो ।

अध्यक्ष आचार्यले पत्रकारले आचारसंहिता पालना गरे कानुनी रूपमा प्रेस काउन्सिलले सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाचार प्रकाशन तथा प्रसारणपछि त्यसको सम्पूर्ण जिम्मेवारी पत्रकारको हुने उल्लेख गर्दै हाल सञ्चार माध्यमले भोगिरहेको आर्थिक सङ्कट समाधानका लागि मिडिया मर्जरको अवधारणा अघि सारिएको जानकारी दिनुभयो ।

यस्तै प्रेस काउन्सिलका सदस्य सन्तराम बिडारीले काउन्सिललाई व्यवस्थित बनाउँदै लगिएको र प्राप्त उजुरीहरूको समयमै सम्बोधन भइरहेको बताउनुभयो । पत्रकारले आफ्नो मूल धर्म र कर्तव्यको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण पौडेल, बुद्ध आवाजका लक्ष्मण बेल्बासे, बुद्धदर्पण राष्ट्रिय दैनिककी पार्वती पाण्डेलगायत वक्ताहरूले पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिलका सूचना अधिकारी तथा सह–प्रशासकीय अधिकृत रामशरण बोहोराले पत्रकार आचारसंहिता तथा निर्देशिकाबारे प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले पत्रकारले गर्न हुने र नहुने कार्यबारे स्पष्ट पार्दै आचारसंहिता उल्लङ्घन नगर्न आग्रह गर्नुभयो । साथै प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्दै मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध तथा सूचित हुने हकको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खगप्रसाद चापागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सनि उल्ला धोबीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा प्रेस काउन्सिलका केन्द्रीय अध्यक्ष डा. कुमार शर्मा आचार्य, सदस्य सन्तराम बिडारी, सूचना अधिकारी रामशरण बोहोरा तथा शाखा अधिकृत सुवास राईलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८२ बिहिबार ००:००  ६ : १३ बजे