बुटवल । गत भदौ २३ र २४ गते देशभर भएको जेनजी समूहको आन्दोलनका क्रममा रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटका घटनामा संलग्न २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–७ स्थित भाटभटेनी सुपरमार्केट भैरहवा शाखामा तोडफोड, आगजनी तथा खाद्य/अखाद्य सामग्री र नगद चोरी गरेको घटनामा छ जनालाई नियन्त्रणमा लिइएको हो । यस्तै सिद्धार्थनगर–६, गल्लामन्डीस्थित अस्थायी प्रहरी बिटमा तोडफोड र आगजनी गरी कागजात तथा प्रहरी पोसाक जलाएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा आक्रमण, तोडफोड र आगजनी गरी क्षति पु¥याएको घटनामा दुई जनालाई नियन्त्रणमा लिइएको छ । देवदह नगरपालिका–९, घोडाहामा नगरप्रमुख ध्रुवप्रसाद खरेलको निजी घरमा अनधिकृत रूपमा प्रवेश गरी धनमाल चोरी गर्दै आगजनी र तोडफोड गरेको आरोपमा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै तिलोत्तमा नगरपालिका–७, मङ्गलापुरस्थित इलाका प्रहरी कार्यालय, प्रहरी बिट र अस्थायी प्रहरी पोस्टमा रहेका सवारीसाधन, फर्निचर, विद्युतीय सामग्री तथा प्रहरी पोसाकमा आगजनी र तोडफोड गरेको घटनामा पाँच जना पक्राउ परेका छन् ।
यस अवधिमा जिल्लामा शान्तिसुरक्षा कायम गर्न प्रहरीले ४९३ पिकेट, ३७८ चेकिङ, नौ सय ग्रामीण गस्ती, १२ एलआरपी र दुई हजार ३२० एसआरपी परिचालन गरेको जनाएको छ । यसबिचमा अवैध हातहतियार, भन्सार छली, प्राकृतिक स्रोत दोहन तथा अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका क्रममा उल्लेख्य मात्रामा राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ । समुदाय र विद्यालयकेन्द्रित सचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर सार्वजनिक सुनुवाइ तथा नवप्रवर्तनात्मक कार्यक्रमसमेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।







प्रतिक्रिया