१४ माघ २०७९, शनिबार | Sat Jan 28 2023

कमरेड प्रचण्ड प्रतिगमन सच्चिएकै हो ?



दीपक अनुरागी ।
अनपेक्षित राजनीतिक उथलपुथलले प्रतिगमन विरुद्धको गठबन्धन पूर्णतः टुटेको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेपछि बनेको बाम–लोकतान्त्रिक गठबन्धन अन्ततः पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भत्काउन पुगेका छन् । आलोचकले सत्ता प्राप्तिका लागि प्रचण्डले जे पनि गर्न तयार हुन्छन् भन्दै आलोचना गर्दै आएका थिए । अन्ततः पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्ड व्यवहारबाट पनि प्रमाणित भइसकेका छन् । प्रचण्डमा देखिदै आएको राजनीतिक उतारचढाव र अस्थिरताका श्रृङ्खला पनि उत्तिकै चाखलाग्दा छन् ।

०७५ जेष्ठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । ०७४ मंसिर १० गतेको आम चुनाव जित्ने मनसायले दुई ठूला कम्युनिष्ट पार्टीले गरेको चुनावी तालमेल पार्टी एकताको तहसम्म पुगेको थियो । पार्टी एकता पश्चात मुलुकमा झण्डै दुई तिहाईको कम्युनिष्ट सरकार बन्यो ।२००६ सालमा निमार्ण भएको कम्युनिष्ट पार्टीको यो जित ऐतिहासिक थियो । लाखौं मतदाता र हजारौं पार्टी कार्यकर्ता यसको खुसीमा थिए ।

कम्युनिष्ट पार्टीले दशकौ देखि उठाउँदै आएका बर्गीय असमानता, विभेद, अन्याय, अत्याचार लगायतका मुद्धा मुलतः अन्त्य हुने स्वार्थ बाम–गठबन्धनलाई मत दिने आम मतदाता र कतिपय इमान्दार कार्यकर्तामा थियो । तर, नेताहरुको स्वार्थ केवल सत्ता प्राप्तिको लागि मात्र रहेछ भन्ने पुष्टि (नेकपा) भित्र देखिएको अन्तर कलहले प्रष्ट पार्छ । दुनियाँमा नभएको एक पार्टीका दुई अध्यक्ष, साठी/चालिसको भागभण्डा नै पार्टी एकताका सबैभन्दा खराब पक्ष हुन् । एकता बस्तुनिष्ठ, बैचारिक थिएन भन्ने विषय एकता गर्दा गरिएको संगठनात्मक पद्धतिले पनि प्रष्ट पार्छ । डर, त्रास र भयका बीच साठी/चालिसको हिसाब एकता टिकाउनका लागि अभिसाप जस्तै भयो । त्यसैले त पार्टीको अन्तरिम विधानमा दुई अध्यक्षको हस्ताक्षर हुनैपर्ने जस्ता नितान्त व्यक्तिवाद, आत्मकेन्द्रीत, बुर्जुवा शैली घुसेको हो ।

साठी प्रतिशतको हिस्सा पाउनेको दम्भ, घमण्ड, अहंमता र चालिसको हिस्सा पाउनेलाई डर, चिन्ता, त्रास नेकपा विघटनका प्रमुख कारण थिए । निस्वार्थ रुपमा गरिएको एकता हुन्थ्यो भने, यस्ता सहायक विषय प्रधान विषय बन्दैन्थे । त्यसो हुँदा पार्टी विभाजन हुँनै सक्दैन्थ्यो ।

(नेकपा) विघटनको डिलसम्म पुग्दा कमरेड प्रचण्डद्धारा केपी शर्मा ओलीका विरुद्ध लेखिएको १९ पृष्ठको आरोप–पत्र भुल्न हुँदैन् । के कति, कुन कारणले, कसको सहयोगमा १९ पृष्ठको आरोप–पत्र लेखियो त्यो विषय भन्दा पनि अध्यक्ष प्रचण्डले लेख्न हुने थियो कि थिएन भन्ने कुरा प्रमुख हो । अन्ततः दुवै अध्यक्ष (केपी र प्रचण्ड) को पत्र हमलाले दुई लाइन संघर्ष उत्कर्षमा पुग्यो । पार्टी भित्र केपी ओली अल्पमतमा परे । त्यसैको रिसमा केपी ओलीले हुँदा–खादाको दुई तिहाई बहुमतको आफ्नै सरकार विघटन गरे । त्यो संसद विघटन असंबैधानिक र अलोकतान्त्रिक थियो ।

पार्टी जीवनका अनेकन पाटामा केपी र प्रचण्ड समूहका गल्ती १९/२० थिए नै । एकले अर्कालाई गलाउने, थकाउने, सकाउने रणनीतिको प्रदर्शन गरिएका कुरुप चरित्रका प्रमाण नेपाली जनतासामु घाम झै छर्लङ्ग छन् । कोभिड–१९ को महामारीमा जनता आक्रान्त भएको बेला तत्कालिन (नेकपा) भित्र देखिएको अन्तरकलह सम्झन लायक थिएन् । देश हाक्ने पाइलटबाटै नहुनु पर्ने भए पछि जनताले दुःख पाउनु स्वभाविक थियो ।

पार्टी भित्रको अन्तर संघर्षलाई संसदमा लगेर रिस साध्ने काम केपी ओलीबाट नहुनु पर्ने हो । दुबै अध्यक्षको अन्तिम हस्ताक्षर बिना केही नहुने विधानको प्रावधान केपी ओलीले सम्झनै पथ्र्यो । पार्टीको रिस सिंगो प्रणालीमा लगेर पोख्नुलाई कसैले राम्रो मान्ने विषय थिएन । त्यहीँ कमजोरीलाई टेकेर केपी ओली विरुद्ध प्रतिगमनको आरोप लागेको हो । सबैभन्दा बढी प्रतिमगनको आवाज उठाउने प्रचण्ड र माधवकुमार नेपाल समूहका नेता थिए ।

प्रचण्ड–माधव समूहले यो भन्नु स्वभाविक थियो । किनकी अन्तरकलह प्रणाली सकाउने तहसम्म आएको थियो । तर स्वतन्त्र नागरिकले पनि सिंगो प्रणालीमाथि प्रहार गर्नुलाई राम्रो मान्ने विषय नै थिएन । केपी ओलीबाट भएको संसद विघटनको चौतर्फी विरोध भएकै हो । संबैधानिक सर्वोच्चता भएको मुलुकमा संसद विघटन गर्नू गलत हो भन्ने सर्वोच्च अदालतबाट पनि फैसला आयो । यसले पनि प्रचण्ड र माधव समूह थप बलिया देखिएका हुन् ।

संसद पुर्नस्थापना पश्चात पनि (नेकपा) भित्रको अन्तरकलह साम्य भएन् । सर्वोच्च अदालतमा विचाराधिन (नेकपा) नामको विवाद २०७७ फाल्गुण २३ मा फैसला भयो । उक्त फैसलाले नेकपा (एमाले) र (माओवादी केन्द्र) को एकता पूर्ववत रुपमा फर्कनु पर्ने अवस्था आयो । जुन फैसला सर्वोच्च अदालतले गलत मनसायले गरेको थियो । कतिपय कानुनविद्हरुले यसको विरोध गरिरहेकै छन् ।

(नेकपा) विभाजन पछि ब्यूतिएका एमाले र माओवादी फरक फरक दलमा उभिए । तत्कालिन प्रचण्ड समूहमा देखिएको एमालेको माधव समूह सबैभन्दा अफ्ठ्यारो स्थितिमा रह्यो । केपी ओलीले ०७७ फाल्गुण २८ मा जुन निर्णय गरे । त्यसले झनै ठूलो दरारता एमाले भित्र ल्यायो । एमालेको नवौं महाधिवेशनले निर्वाचित गरेको पदाधिकारीलाई गुट भेला मार्फत बर्खास्त गर्ने काम गर्नु हुन्थेन् । एमाले भित्रको अन्तरकलह, सैद्धान्तिक मतभेद, पार्टी विभाजनको तहसम्म पुग्ने परिस्थितिको ब्याख्या पछि गरौंला ।

(नेकपा) विभाजन पश्चात बनेका एमाले र माओवादी बीच थुप्रै आरोप प्रत्यारोप भएकै हुन् । माओवादीका अध्यक्ष प्रचण्डले केपी ओलीलाई पटक-पटक प्रतिगमनकारी भएको आरोप लगाए । संसद विघटन गर्नु प्रतिगमन हो भन्ने नेता प्रचण्ड हुन् ।

यति मात्र होइन् ओली गणतन्त्रवादी नेता नभएकोसम्म प्रचण्डले खुलेरै आरोप लगाए । गणतन्त्र ओलीलाई मन नपरेको, राजावादी शक्तिलाई प्रोत्साहन गरेको, विदेशी सामु लम्पसार परेको जस्ता आरोप प्रचण्डले दिनहुँ लगाउँने गर्थे । संघीयता प्रति पनि ओली प्रचण्डको नजरमा ‘नेगेटिभ’ नेता हुन् । अहिलेको सिंगो परिवर्तन उल्ट्याउन खोज्ने पात्रका रुपमा प्रचण्डको नजरमा ओली ठहरिए । एमाले मुलतः दक्षिणपन्थी, अवसरवादी शक्ति भएको प्रचण्डको निष्कर्ष थियो । ओली बेइमान, धोकाधडीका नायक प्रचण्डको नजरमा उत्तिकै हुन् । (नेकपा) को सरकारमा अढाई/अढाई बर्ष नेतृत्व गर्ने भद्र सहमति उल्लङ्घन गर्ने बेइमान नेता ओली नै थिए प्रचण्डको नजरमा ।

झण्डै दुई बर्ष देखि फरक फरक पार्टी हुँदासम्म पनि दुई नेता बीचको आरोप प्रत्यारोप निरन्तर रुपमा चल्यो । प्रचण्डले ओलीको सत्ता ढाल्नका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग्नेसम्मको अगुवाई गरे । एमाले विभाजनमा प्रचण्डको सक्रियता गज्जवकै हो । ओलीलाई पराजित गर्नका लागि बनेको ५ दलीय गठबन्धन र यसका महिनौं बसेका बैठक ओली विरुद्ध नै थिए । ०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा ५ दलीय गठबन्धन आली विरुद्ध लाग्यो । ओलीविहिन मुलुक बनाउने भाषण गर्दै प्रचण्ड देशभर कुदेँ । ७ सय ५३ स्थानीय पालिका मध्ये १ सय २१ बढी स्थान जितेर माओवादी तेस्रो शक्तिका रुपमा उदायो । नेकपाबाट माओवादी बन्दै गर्दा प्रचण्ड कमजोर बनेका थिए । शक्तिशाली नेताहरु राम बहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट लगायत एमालेमै बसेका थिए । खिइदो माओवादीको साखका बीच ५ दलीय गठबन्धन पश्चात स्थानीय तहमा माओवादी दमदार बार्गेनिङको यात्रामा आयो । स्थानीय तहको नतिजा प्रति माओवादी भित्रि रुपमा खुसी भएपनि, बाहिरी रुपमा असन्तोष आवाज भने प्रचण्डले निरन्तर प्रकट गर्दै आएका थिए । तरपनि माओवादीको विजयी अनुमान भन्दा फरक नै थियो ।

स्थानीय तहको चुनाव सकिए लगत्तै आम चुनावको माहोल तात्यो । महिनौंका वार्ता पश्चात गत असोज २२ गते साँझमात्र सिट संख्या टुङ्गियो । असोज २३ गते मनोनयनको अघिल्लो रात भएको सहमति बमोजिम प्रतिनिधिसभा र प्रदेश सभामा माओवादीले गठबन्धनबाट राम्रै सिट पायो । सिट संख्यामा हौसिएका प्रचण्ड चुनावभर ओली विरुद्ध विषवमन नै गरे । उनले गरेका तमाम अन्तर्वार्ता, अनेकौ चुनावी भाषण सामाजिक सन्जालमा छरपष्ट छन् । प्रचण्ड भन्ने गर्थे केपी ओलीसंग कुनै पनि राजनीति सहकार्य सम्भव छैन् । ओली सच्चिएका छैनन्, प्रधानमन्त्री दिए पनि सम्झौता गर्दिन । चुनावताका कांग्रेससहितको गठबन्धन १५ बर्ष बढी टिक्ने भविष्यवाणी गर्ने नेता पनि यिनै प्रचण्ड थिए । ओली पूर्णतयाः राजनीति रुपमा असफल भइसकेको उद्घोष बारम्बार प्रचण्डले गरे । ओली–प्रचण्ड वाकयुद्ध नेपाली राजनीतिमा निरन्तर चलिरह्यो । दुई बर्ष बढी, दुई नेता बीचको कटुतता भएको कारण पछिल्लो आरोप प्रत्यारोप कसैलाई नौलो नै लाग्दैन्थ्यो । कतिपयले भने आरोप प्रत्यारोप सुनेरै आनन्द लिन्थे ।

यी तमाम गालीगलौज र ओली सकाउने भनेर लागेका प्रचण्ड मुलतः ओलीकै शरणमा पुगेका छन् । आफ्ना विगत चटक्क भुलेर प्रधानमन्त्री पदमा प्रचण्ड टाँसिएका छन् । राजनीतिका चतुर खेलाडी भनेर चिनिएका प्रचण्ड पद प्राप्तिका लागि जे पनि गर्दा रहेछन् भन्ने आफूलाई प्रमाणित गरेका छन् । प्रचण्डको रिस कांग्रेसले घमण्ड गर्‍यो भन्ने छ । यो उनको उम्किने बाटो लाग्छ । कांग्रेसले धोका दिए प्रतिपक्षमा बस्दा प्रचण्डको ठूलो जित देखिन्थ्यो । किनकी केपी ओलीले आफूले गरेको सम्झौता उल्लङ्घन गर्दा उनी गलत ठहरिएका थिए ।

निवर्तमान गठबन्धनले दुई/दुई बर्ष प्रधानमन्त्री हुने सम्झौता गर्दै थियो । सम्झौता कार्यान्वयन पक्कै हुन्थ्यो नै । कुन पहिला प्रधानमन्त्री बन्ने भन्ने नाउँमा ओलीसामुु प्रचण्ड लम्पसार परेका छन् । केपी ओलीले आफू सुध्रिएको बताएकै छैनन् । तर प्रचण्ड आफूले गरेको प्रश्नको उत्तर नखोजी ओलीको शरणमा पुगेका छन् ।

प्रचण्डले ओलीलाई बारम्बार आरोपका प्रश्न गरे । त्यसको उत्तर नखोजी किन उतै टाँसिए ? आम जनताको प्रश्न छ । सत्ता प्राप्तिका लागि अवसरवादी यात्रा चुम्नु नै थियो भने यो बीचको राजनीतिक अस्थिरताको बिउँ किन रोपेको ? प्रश्न सोधे पनि उत्तर दिन प्रचण्डले पक्कै चाहदैनन् । किनकी प्रचण्डको भाषामा ‘राजनीति सम्भावनाको खेल हो’ ।

गठबन्धन भत्कनुमा कांग्रेसका पनि गल्ती छन् । ती कांग्रेसका गल्ती भन्दा ठूलो गल्ती प्रचण्डले सत्ता प्राप्तिका लागि एमालेसंग गरेको गठजोड भएको छ । प्रचण्ड/केपीसंग केवल सत्ता नपाएकै कारण रिसाएका रहेछन् भन्ने पुष्टाई अहिले आएर भएको छ । माधव कुमार नेपालको अडान आजसम्मको ठीक छ । एमाले सम्मिलित सरकारमा गएर नेकपा एसले ठूलो गल्ती नगरोस् कामना छ । नत्र केपी ओलीले गरेको भनिएको प्रतिगमनको आरोप केवल मित्थ्या हो बाहेक अरु बुझ्दा फरक पर्दैन् । ओलीले गल्ती स्विकार नगर्दासम्म उनीसंग सहकार्यसम्म गर्न हुँदैन् ।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  ६ : १२ बजे