१४ माघ २०७९, शनिबार | Sat Jan 28 2023

भ्रमणको भोगाईः सडक सुधार्न नसक्ने निकम्मा सरकार !



दीपक अनुरागी ।
नेपालको सडक सन्जालको दुर्दशा लेखेर लेखि साध्य छैन् । देश बदल्ने कसम खाएका नेता र काम गर्ने जिम्मेवारी पाएका सरकारी कर्मचारी मुखदर्शक छन् । यस्तो बेला सडकको हविगतबारे लेख्नु, बोल्नु र कराउनुको अर्थ त खासै छैन्, तरपनि बेग्रेती समस्यामा मौन बस्नुलाई समर्थन गरेको ठहरिन्छ ।

कपिलवस्तु बाणगंगाका ६ जना सन्चारकर्मीले मध्य नेपालका विभिन्न जिल्लाको भ्रमण गर्ने योजना बनायौं । बाणगंगा नगरपालिका वडा नं. ४ ले बार्षिक बजेटमा सन्चारकर्मीलाई भ्रमण गराउने गरी बजेट विनियोजन गरेको थियो ।

वडाभित्र पर्ने सन्चार गृहका सन्चारकर्मीलाई भ्रमण गराउने उद्धेश्यले वडाले छुट्याएको ५० हजार बजेटले हामीले चार दिने यात्रा तय गरेका थियौं । वडाको सहयोग र व्यक्तिगत खर्च मिलाएर ०७९ पुस ६ गते हामी मध्य नेपालका विभिन्न जिल्ला अवलोकनका लागि बाणगंगाबाट हिड्यौं ।

यात्रामा निस्किएको भ्रमण टोली ।

हाम्रो भ्रमणको उद्धेश्य ग्रामीण जनजीवन, भौगोलिकस्थिति, विकासको गति र सन्चार माध्यमको पहुँचबारे अध्ययनका लागि थियो । गाउँ गाउँले भरिएको सुन्दर देश नेपाल साँच्चिकै रमणीय छ । भ्रमणले आन्तरिक पर्यटन प्रवर्धनलाई टेवा त गर्छ नै, यसका साथै देशका विभिन्न जिल्लाबारे जान्नु, बुझ्नु उत्तिकै महत्वपूर्ण हुन्छ ।

बाणगंगाबाट हामी पश्चिमको यात्रा तय गर्‍यौं । महेन्द्र राजमार्ग हुँदै लमहीबाट हामी उकालो लाग्दै घोराही-तुल्सीपुर उपत्ययका पुग्यौं । यात्रा तय गरे देखि नै सडकको दुर्दशाले हामीलाई घोचेको थियो । कसरी गन्तव्यमा पुग्ने । र, धुलो, धुवाँ र हिलोबाट बचेँर कसरी घर फर्कने भन्ने पिरलो नै थियो ।

जति धेरै प्राकृतिक बनोटले मनलाई चुङ्ग्याएको थियो । उत्तिकै सडकको दुर्दशाले देश हाक्ने नेता र कर्मचारीलाई गिज्याएको थियो । प्रकृतिले अपार सम्भावना दिँदा दिदैं यसको अर्थ बुझ्न नसक्नु नै हाम्रो विडम्वना बनेको छ ।

घोराही–तुल्सीपुर शहर पुग्दा समेत सडकले आफ्नो रुप फेरेन । दाङ उपत्ययकामा पर्ने घोराही र तुल्सीपुर साविक राप्ती अन्चलका ठूला शहर हुन् । भौगोलिक रुपमा धनी दुवै क्षेत्र समथल भूभागमा छन् । बीच-बीचमा खोला परे पनि यो भुगोल राम्रो छ । अघिल्लो चुनावमा घोराही क्षेत्रले चुनाव जिताएर सिंगो लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनायो । तर, सडकले गति फेर्न सकेन् । सडकको कारण घोराहीबाट तुल्सीपुर पुग्नै सकस छ । धुलाम्मे, हिलाम्मेले गर्दा सडकमा यात्रा गर्ने यात्रु सास्ति खेप्न बाध्य छन् । सडक वरपर बनेका घरहरु जति सुन्दर छन्, सडकको दुर्दशा उत्तिकै विजोग छ । लाग्छ, ‘माल पाएर चाल नपाएको शहर हो घारोही–तुल्सीपुर ।’

घोराही तुल्सीपुरका नेता विकासप्रेमी भएको भए सायद यति विघ्न वेहाल सडकको हुने थिएन । शंकर पोख्रेल जस्ता दिग्गज नेता जन्माएको घोराही–तुल्सीपुरले केवल गफाडी बाहेक अर्को पाएको रहेनछ भन्ने सडकको दुर्दशाले प्रष्ट झल्काउँन्थ्यो ।

जसोतसो तुल्सीपुर पुगेका हामी राप्ती राजमार्ग समात्दै सल्यान चढ्यौं । कपुरकोट नचढ्दै केही पहाडी भूगोल दाङमा पर्छ । राम्री आसपासको सडक त्यति सहस छैन् । नाम राम्री, सडक कुरुप यहाँको वास्तविक रुप हो । अनकन्टार पहाड छिचोलेर निर्माण गरिएको यो सडक खतरापूर्ण देखिन्छ । भूगोल जस्तो सुकै भएपनि सडक राम्रै हुनुपर्ने हो । तर, सडकको विजोग अवस्था अर्को डरलाग्दो रुपमा छ । दैनिक सयौं सवारी हिड्ने बाटोको कन्तविजोग कुनै नेता र कर्मचारीले देखेका छैनन् । सायद ठूला भनिएका नेताहरु यो सडक हुँदै होइन्, आकाश हुँदै आवात-जावत गर्दा नदेखेको हुनसक्छ । सिंगो सल्यान, रुकुम पश्चिम, पूर्वी रुकुम पुग्ने यो सडकको हविगतबारे धेरै बोल्दा, लेख्दा कसैले नसुनेर हुन सक्छ । कपुरकोट छिर्दै गर्दा एउटा होडिङबोर्डमा लेखिएको छ-‘कहिल्यै नसुध्रिएको सडकमा हार्दिक स्वागत छ’ !

सल्यानको कपुरकोट क्षेत्र तरकारीको राम्रो सम्भावना भएको कृषि भूमि हो । जसोतसो, दुखजिलो गरी यहाँका किसानले उत्पादन गरेको तरकारी तराईसम्म झार्न सडककै कारण असजिलो भएको छ । धुलाम्मे सडकको यात्रा गरेर तुल्सीपुर झर्दा मान्छे नचिनिने बन्छ भने तरकारीको रुप धुलोका कारण ढुंगो जस्तो बन्दा मान्छे ठम्याउनै गाह्रो पर्छ । यो यहाँको यथार्थ चित्र हो । कारण सडकको हरिबजोग र निकम्मा राज्य भएर यस्तो भएको हो ।

कपुरकोटमा विहानी खाना खाएर हामी रुकुम पश्चिम निस्कियौं । सिंगो सल्यान जिल्लाको सडक सन्जालको हरिविजोगले भ्रमण सोचेजस्तो भएन । कालोपत्रे भन्ने चिज सडकमा देख्न मुस्किल-मुस्किल बन्यो भने, कच्ची सडकमा पनि यति विघ्न खाल्डा कतै छैनन् होला । तर राप्ति नामकरण गरेको राजमार्गको परिचय यहीँ हो ।

सल्यान कटेर रुकुम पश्चिम छिर्ने बेला केही स्थान पनि उत्तिकै जटिलो थियो । देशको अर्थ मन्त्रालयको बागडोर सम्हालेको रुकुम पश्चिमले सडक पाउन सकेको रैनछ । भत्किएको बाटो टाल्न नसक्नेले मुलुक हाक्छु भनेर गर्ने भाषणको के अर्थ ? भ्रमणका क्रममा यस्तै प्रश्न उठे । रुकुम पश्चिमको सदरमुकाम खलङ्गा पुग्नै लाग्दा कतिपय स्थानको सडक ठिक ठिक थियो । नत्र पुरै सडकको बेहाल लेखेर लेखि साध्य छैन् ।

१० बर्षे जनयुद्धको आधारभूमिमा देखिएको सडकको कन्तविजोगले के सन्देश दिएको होला ? समाज रुपान्तरण, देश विकास फगुल गफ बाहेक के हुन सक्ला ? सडक देखेरै यो आरोप होइन् धर्मसत्य कुरा हो जस्तो लाग्छ । सर्वसाधारणका जीवनशैली फेर्ने विषय दुरदुर छ । पन्चायतकालमा खोलेको सडक टाल्ने जिम्मेवारी अहिलेका नेताको छैन् भन्ने यसले देखाउँछ । पटक पटक चुनाव जितेका र चुनाव जित्न कोसिस गरेकाहरु उस्तै उस्तै हुन् । किनकी चुनाव हार्नेहरु पनि सडकको दुर्दशाबारे कतै नबोलेको रुकुमेली सर्वसाधारणले बताएका छन् ।

रुकुम पश्चिम हुँदै हामी पुष्पलाल-मध्यपहाडी लोकमार्ग पुग्यौं । यहीँ लोकमार्ग हुँदै हामी लुम्बनी प्रदेशको कान्छो जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोट गयौं । यो सडक निर्माणधिनको अवस्थामा छ । कतिपय ठाउँमा सडक बनिसके पनि खाल्डा पर्न थालिसकेका छन् । साना खाल्डा पुर्ने चिन्ता कसैमा नदेखिए पनि सडक राम्रै बनेको छ ।

ठूला-ठूला पहाड, नजिकै देखिने सिस्ने हिमालले मन प्रफूल्ल बनाउँन्थ्यो । ग्रामीण जीवनशैली आफैमा लोभलाग्दो आकर्षण थियो । सानो भेरीको छालले सुुसेल्ने आवाज झनै मोहित थियो । वारीपारी देखिने घर र झिलिमिली बिजुली बत्तिको प्रकाशले मन आनन्दित हुन्थ्यो । निर्माणधिन ठूला-ठूला पक्की भवनले मन उद्देलित बनायो । पहिलो दिनको बास हाम्रो रुकुमकोट हुन पुग्यो । सडकको दुर्दशाले हालत खराब गराएको मनलाई रुकुमकोटको सौन्दर्यताले मोहित तुल्यायो । हिमपात पर्खिरहेका बारीका फाँटमा फूलेका तोरीका फूल अर्को सौन्दर्यताको रुप थियो ।

पुस ७ गते विहान ८ बजे हाम्रो यात्रा रुकुम पूर्व हुँदै बागलुङ तिर लाग्यो । मध्य-पहाडी लोकमार्ग हुँदै हाम्रो यात्रा बागलुङ तय भएको हो । ठूला-ठूला पहाड छिचोलेर बनाइएको यो सडक साँच्चिकै लोभलाग्दो छ । गाडीको खासै चाप नहुने यो सडक वरपर भएर बग्ने खोलाहरु ग्राणीम परिवेशका प्रकाश बनेका छन् । राज्यले जनजीवनलाई उज्यालो दिन नसके पनि खोलाले सुसेल्ने स्वर र कन्चन पानीले यहाँको दैनिकीलाई मन भुलाउने बाटो बनाइ दिएको छ ।

रुकुम पूर्वमा रहेको जलविद्युत आयोजनाबाट झरेको झरना ।

सडक सन्जालले जोडे पनि रुकुमकोट पूर्वको भेगको जनजीवन त्यति सजिलो छैन् । भौगोलिक भू-बनोट हेर्नका लागि राम्रो लागे पनि त्यहाँ जीवन विताउनेहरुको मुहार त्यति उल्लासपूर्ण देखिदैन् । सडक सन्जालले जोडेको कारण सर्वसाधारण भने केहीँ हुन्छ की भन्ने आशामा छन् ।

रुकुम पूर्वः खाना खादै गरेकी बृद्ध आमा ।

केही घण्टाको यात्रा पश्चात हामी लुकुम पुग्यौ । लुकुम गाउँ लोभलाग्दो छ । जोडिएका पूराना ढुंगाका घरहरु, घरहरुको बार्दलीमा झुण्डाइएका मकैले मनलाई आर्कर्षित गर्छ । मध्यपहाडी मार्गमै पर्ने लुकुम गाउँमा स्थानीयस्तरमा उत्पादित कोदो, जौ, मकैका विभिन्न खानेकुरा पाइदो रहेछ ।

रुकुम पूर्वः बार्दलीमा मकै झुण्डाइएको मौलिक घर ।

लुकुमको खाजा पश्चात हाम्रो यात्रा अगाडी बढ्यो । सडक आसपासमा बहने खोलाका नजिक बनेका साना जलविद्युत आयोजनाले विकासको केहीँ अनुभूति पनि गराउँन्थ्यो । पानीको सदुपयोग गरी बनाइएका साना जलविद्युत आयोजना स्थानीयस्तरमा समृद्धिको सारथी बनेका छन् । कुटानी, पिसानीका लागि मात्र होइन्, विजुली बत्तिबाट गरिने सबै काममा सहजता मिलेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने लुकुम गाउँ ।

रोल्पा, बागलुङ र रुकुमको संगमस्थल तिलाचन धुरी अर्को महत्वपूर्ण ठाउँ हो । यहाँ पुग्दा जाडोले कठ्याङ्ग्रिने बनायो । यहाँ दुई होटल रहेका छन् । जस मध्ये एक होटलमा मध्यान्नको समयमा पनि हामी आगो ताप्यौं । आकाश खुलेर घाम लागेको बेला पनि यहाँ जाडोले सतायो । समुद्री सतह देखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीयस्थल हो । यहाँ हामीले भेडाको सुकुटी मन फेरेर खायौं ।

त्यहाँको केही समयको बसाई पश्चात हाम्रो यात्रा निसिखोला गाउँपालिका बागलुङ तर्फ लाग्यौं । बुर्तिबाङ पुग्दासम्म सडकको स्थिति यहाँ राम्रो रहेछ । भर्खर बनेको सडक भत्किसकेको छैन् । कतिपय स्थानमा पहिरोले सडक भत्किएको भए पनि अधिकांश स्थान राम्रो लाग्यो ।

बुर्तिबाङ चिया खाएर हामी पोखराको यात्रा तह गर्‍यौं । बाटाभरी देखिने गाउँहरुले नेपालको वास्तविक पहिचान बोकेका थिए । आधुनिकतासंगै बागलुङका गलकोट, बुर्तिबाङ जस्ता बजार बुटवल, काठमाडौं भन्दा फरक थिएनन् । ढोरपाटन सिकार आरक्षण केन्द्र र मध्य नेपालको प्रमुख पर्यटकीय गतन्व्य बोकेकोस्थल भएको कारण बुर्तिबाङ विकसित शहरमा रुपान्तरण भएको छ । ठूला-ठूला घरहरु यहाँ बनेका छन् ।

गलकोट बजार क्षेत्रमा पनि शहरीकरणको प्रभाव बढेको छ । नयाँ घरहरु बन्नेक्रममा रहेका छन् । गलकोट हुँदै हामी बागलुङ बजारको यात्रा गर्यौं । गलकोटबाट हामी उकाले बाटो हुँदै बागलुङ बजार माथिको डाँडामा पुग्यौं । त्यहाँबाट सन्ध्याकालिन प्रहरमा देखिएका माछापुछ्रे, अन्नपूर्ण हिमालले मनलाई झनै लोभ्यायो । मन प्रभुल्न बनाएर हामीले तस्बिर खिच्यौं, केहीँ नाच्यौं ।

बागलुङ पुग्नु अगाडीको झण्डै २० किलोमिटर सडकले फेरि सतायो । यो बाटोको अवस्था पनि चिन्ताजनक रहेछ । जसोतसो यो यात्रा पार गरेर हामी बागलुङ बजार बस्यौं । कालिका भगवती मन्दीरको दर्शनले मनलाई शान्त बनायो । बागलुङ देखि बागलुङ जोड्ने आधा किलोमिटर लामो झुलुङ्गे पुलमा हिड्दा आनन्द छुट्टै थियो । झुलुङुगे पुल मुनि बग्ने काली गण्डकी नदी निश्चल थियो । हिमालको हिम श्रृङ्खला हेर्दाको आनन्द विछिट्टै प्रकारको थियो ।

हाम्रो यात्रा पर्वको कुश्मा तर्फ लाग्यो । पर्वतको कुस्मा बजार आन्तरिक पर्यटकका लागि राम्रो गन्तव्य बनेको छ । कुस्माबाट सिधैं बागलुङ जोड्ने पुल, दुवै जिल्ला समेटिएर बनाइएको बन्जिजम आफैमा हेर्न लायक छ । बार्षिक हजारौं व्यक्ति यहाँ मनोरन्जनका लागि आउने गरेका छन् । यहाँको रौनकता पश्चात हाम्रो यात्रा पोखरा लाग्यो । पोखरा फर्कदा दुरावस्था उस्तै देख्यौं । पर्यटनको राम्रो सम्भावना भएका जिल्लामा सडकमा स्थिति देख्दा कसको मन रुन्न होला र । पर्यटनको विकासबाट समृद्धि देख्नेहरुले अझै सडकको गति बुझ्न सकेका छैनन् । भ्रमण बर्ष २०२० मनाउने तामझाम पनि नभएको होइन् । भ्रमण बर्षका नाममा हजारौं विदेशी पर्यटक भित्त्राएर यहीँ गतिको सडक देखाएर संसारको गरिब देश बनाउने त्यो अभियान झन्न चलेन ।

पोखरा, स्याङ्जा, पाल्पा हुँदै बुटवलसम्मको सडकको हालत पनि उस्तै छ । बनेका सडक नटिक्नु, विग्रिएको सडक तत्काल मर्मत गर्न किन सरकार लाग्दैन् ? किन पर्यटन प्रवर्धनको फजुल गफमा राज्य लाग्छ ? किन जनताको ज्यानलाई राज्यले वास्ता गर्दैन् ? सडक सुधार्ने संयन्त्र किन चुप छ ? तीन तीन प्रकारका सरकार किन मौन छन् ? उनीहरु के काम गर्छन् ? सडकको कारण पर्यटक घुम्न भन्दा सास्ति खेप्न गएको आभाष चार दिने भ्रमणले दिलाएको छ ।

सुन्दर पहाडी दृश्य ।

प्रकाशित मिति : १२ पुस २०७९ मंगलबार ००:००  ५ : २५ बजे