४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

प्रधानमन्त्री प्रचण्डले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने



काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज पोखरा जाँदै हुनुहुन्छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुग्ने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नुहुनेछ ।

विमानस्थल शुभारम्भकै अवसरमा बिहान १० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्याली आयोजना गरिएको छ । ¥यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर बिहान ११ बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् ।

उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । उद्घाटनपछि दिउँसो २ बजेदेखि दिउँसो ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम हुनेछ भने ४ बजेदेखि साढे ५ बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ।

बेलुका ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिनुभयो । विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा बेलुका ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९ आइतबार ००:००  ७ : ४१ बजे