७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बाणगंगामा हिउँदे नगर सभाः रातो किताबमा समावेश १ करोड ५० लाखका योजना हेरफेर



मायादेवी अनलाइन, बाणगंगा
कपिलवस्तु बाणगंगा नगरको हिउँदे नगरसभाले रातो किताबमा समावेश १ करोड ५० लाखका योजनालाई हेरफेर गरेको छ ।

नगरको १२ औं तथा हिउँदे नगर सभाले चालु आवमा भएका आम्दानी तथा खर्चको विवरण तुलना गर्दै केही योजना थपघट गर्दै बजेटलाई हेरफेर गरेको हो ।

‘नगरसभाले पुराना योजनाको केही संसोधन र राजश्वमा आएको वृद्धि अनुरुप नयाँ प्रस्तावित योजनाहरु स्वीकृत गरेको छ’, नगर प्रवक्ता विष्णु पौडेलले भने ।

नगरका ११ वटै वडामा करिब १ करोड ५० लाख बराबरको योजना थपघट गरिएको वडा नं २ का वडा अध्यक्ष समेत रहेका प्रवक्ता पौडेलले बताए ।

चालु आवमा प्राय सबै योजना कार्यान्यनमा गएकाले धेरै शिर्षक यथावत नै राखेर जाने गरि केही मात्र शिर्षक संशोधन गरिएको मेयर चक्रपाणी अर्यालले बताए ।

नगर सभामा बोल्दै मेयर अर्यालले नगरसभा सदस्यले राखेका विभिन्न प्रश्न तथा जिज्ञासाको संवोधन गर्दै बाणगंगालाई समृद्ध र शुसासनयुक्त नगर बनाएर लैजान अबको सम्पूर्ण समय नगर विकासमा खर्च गर्न सबैलाई आग्रह गरे ।

उप-मेयर रिता कुमारी थारुले बाणगंगाको बिकासमा कुनै पनि प्रकारको विभेद र राजनैतिक पूर्वाग्रह नराख्ने संस्कार संस्थागत भएको भन्दै यसलाई अझ बढाउन सबैमा आग्रह गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भूसालले आफू यसपालीको नगर सभामा सहभागी भएर हेर्दा यहाँका जनप्रतिनिधिको स्तर धेरै माथिको रहेको पाएको बताए ।

प्रकाशित मिति : ३० पुस २०७९ शनिबार ००:००  ६ : ३८ बजे