६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

बुद्धभूमिमा दुई सय बढीको निशुल्क आखाँको अप्रेशन, झण्डै चार सय बढीलाई चश्मा वितरण



मायादेवी अनलाइन, बुद्धभूमि।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शिविर मार्फत आखाँका बिरामीलाई निशुल्क सेवा दिएको छ । बुद्धभूमि नगरपालिकाको आयोजना र छन्दकाले बावु नारायणी आखाँ अस्पताल बहादुरगन्जको प्राविधिक सहयोगमा नगरभित्रका आखाँका बिरामीहरुलाई सेवा दिइएको हो ।

नगरको वडा नं. ६ महुवामा यही सोमबार र मंगलबार दुई दिन सन्चालन भएको शिविरबाट धेरै मात्रामा आखाँका बिरामीहरुले निशुल्क सेवा लिएको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो ।

नगरको बार्षिक कार्यक्रम अनुसार निशुल्क आखाँ शिविर राखिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठका अनुसार २ सय २ जनाको निशुल्क आखाँको अप्रेशन गरिएको छ भने ४ सय ६२ जनालाई निशुल्क चश्मा बाँडिएको छ ।

आखाँको अप्रेशन गरेका बिरामीलाई औषधि र चश्मा समेत निशुल्क प्रदान गरिएको उहाँले बताउनुभयो ।

नगरले प्रदान गरेको निशुल्क सेवाले प्रत्येक बिरामीको झण्डै ६५ सय बचत भएको छ । आखाँ अप्रेशनका लागि प्रति एक जना बिरामीले झण्डै ६५ सय खर्च गर्नुपर्ने हुन्छ ।

शिविर मार्फत नगर भित्रका १२ सय ९४ जनाले आखाँ जाँच गराएका छन् ।

नगरका स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालले नगरपालिकाले आखाँका बिरामीलाई निशुल्क सेवा प्रदान गरेको बताउनुभयो । स्वास्थ्य शिविर मार्फत नगरबासीलाई सेवा दिइएको भन्दै आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्दै जाने उहाँले बताउनुभयो ।

यता वडा नं. ९ मा सन्तानका रहर पुगेका ४५ जनालाई स्थायी बन्ध्याकरण गरिएको अर्यालले बताउनुभयो । नगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा स्थायी बन्ध्याकरण सन्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ११ माघ २०७९ बुधबार ००:००  ६ : ५२ बजे