१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

०५१ फागुनपछि जन्मेका मात्र स्ववियु उम्मेदवार



काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनसम्बन्धी आचारसंहिता तयार गरेको छ । ५ चैतका लागि घोषणा गरेको स्ववियु निर्वाचनमा २७ फागुनमा उम्मेदवारी दर्ता भएमा २८ फागुन ०५१ र त्यसपछि जन्मेकाले मात्र उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् । यो मस्यौदा त्रिवि कार्यकारी परिषद्बाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ ।

समितिले तयार गरेको मस्यौदामा २१ विद्यार्थी संगठनसँग त्रिविका पदाधिकारीसहित छलफल भएको थियो । विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक प्रा.डा. पशुपति अधिकारीले २१ संगठनसँग छलफल गरेको र सुझाव समेटेर केही दिनमै त्रिवि कार्यकारी परिषद्बाट आचारसंहिता पारित हुने बताए ।

आचारसंहितामा २८ वर्षे उमेरहद, मिश्रित निर्वाचन प्रणालीलगायत व्यवस्थाले निरन्तरता पाएको उनको भनाइ छ । पदाधिकारीमध्ये अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । आचारसंहिताअनुसार विद्यार्थीको संख्याअनुसार स्ववियु कार्यसमिति निर्माण हुनेछ । दुई सयसम्म विद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय, हजारसम्म १३, तीन हजारसम्म १५, पाँच हजारसम्म १९ र पाँच हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा समेत स्ववियु चुनाव भएको थियो । ०७३ मा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु हुन सकेको थिएन ।

प्रकाशित मिति : १६ माघ २०७९ सोमबार ००:००  १ : ३० बजे