१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

१३ औं कपिलवस्तु महोत्सवः सबै तयारी पुरा, उद्योगमन्त्रीले उद्घाटन गर्ने



मायादेवी अनलाइन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले उक्त जानकारी दिएको हो ।

महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ मंगलबार देखि माघ २९ गतेसम्म बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा महोत्सव सन्चालन हुँदै छ ।

यसभन्दा अगाडीका १२ औं महोत्सव सफलता पूर्वक सम्पन्न भएका छन् । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई नयाँपन दिने गरी काम भइरहेको महोत्सवका संयोजक समेत रहनुभएका घिमिरेले बताउनुभयो । महोत्सवलाई उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने संयोजक घिमिरेले जानकारी दिनुभयो ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले विगतका महोत्सवहरुबाट पाठ सिक्दै यस महोत्सवलाई ऐतिहासिक बनाउने गरी काम भइरहेको बताउनुभयो । १३ औं कपिलवस्तु महोत्सवलाई जिल्लाकै उत्सवका रुपमा स्थापित गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।

संघले महोत्सव सन्चालनका लागि विभिन्न समिति, उपसमिति गठन गरेर अगाडी बढेको छ । महोत्सवमा डेढ लाख दर्शक भित्राउँदै करिब ६ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । महोत्सवलाई नयाँपन दिन यो पालि प्रमुख अतिथिलाई बग्गी चढाएर स्टेजसम्म लैजाने व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो ।

संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले विगतका महोत्सवहरुमा हुँदै आएको डान्स आइडललाई निरन्तरता दिदैं यस महोत्सवलाई नयाँपन दिन ‘सिङ्गीङ आईडल’ गर्न लागिएको बताउनुभयो । ’सिङ्गीङ आईडल’ महोत्सवको आकर्षणको केन्द्रविन्दुका स्थापित हुने उहाँले दाबी गर्नुभयो । महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले मिडियाका क्षेत्रबाट यस महोत्सवलाई सफल बनाउन महत्वपुर्ण भूमिका निर्वाह प्रतिवद्धता जनाउनुभयो । उहाँले महोत्सवबाट हुने आम्दानीको केही रकम पत्रकारहरुको हकहितका लागि स्थापित गरिएको कोषमा जम्मा गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १६ माघ २०७९ सोमबार ००:००  ६ : ४७ बजे