१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

पर्यटनबाट समृद्धि खोज्दै भूमिकास्थान नगरपालिका



बिष्णु कुमार आले, अर्घाखाँची ।
समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको अर्घाखाँचीको भूमिकास्थान नगरपालिका भित्र अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार प्रसार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुन थालेको छ । समुन्द्र सतहदेखि एक हजार चार सयदेखि दुई हजार मिटर उचाइसम्म रहेको भूमिकास्थान १० धनचौर सेङ्लेङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुन थालेको छ ।

अधिकतम पर्यटन भित्राउने नगरको प्रयास

प्रचार प्रसारको अभावमा ओझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि भूमिकास्थान नगरपालिकाले सक्रियता देखाएको छ । नगरपालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्न नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । नगरपालिकाले जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको छ । धार्मिक पर्यटकीय क्षेत्रमा सडक संजाल जोडिएपछि ओझेल परेका गन्तव्य पनि प्रचारमा आउन थालेका छन् । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको गुरुयोजना बनाउने र तिनीहरुको प्रचार र विकासका लागि नगरपालिका योजनाबद्ध रुपमा लागेको नगरपालिकाका मेयर झबिलाल थापाले बताए ।

थापाले चर्चामा आएका गन्तव्यको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलको प्रचारलाई तीव्रता दिने बताए । उनले भने, ‘भूमिकास्थान नगरपालिका भित्र धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, कति हामीले पहिचान गरेका छौँ, कति पहिचान गर्न बाँकी छन्, पहिचान र प्रचारको लागि निरन्तर लागिरहेका छौँ, पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छौँ ।’

‘यहाँ थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ छन् । भूमिकास्थानमा रहेका धेरै जसो पर्यटकीय तथा धार्मिक क्षेत्र विभिन्न जिल्ला र पालिकाहरूको सिमानमा रहेका छन् । यसले दुवै पक्षले समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुन्छ, उनले भने’, आवश्यक छलफल गरीरहेका छौँ । आ-आफ्नो सिमानामा पर्ने स्थलको आफै योजना बनाएर काम सुरु गरेका छौँ ।’

‘पहिलो चरणमा सम्भावना बोकेका ठाउँको पहिचान गरी रहेका छौँ, त्यसको विकास गर्ने हाम्रो दायित्व हो, भर्खरै यसबाट नतिजा नआउन सक्छ तर विस्तारै नतिजा आउनेमा हामी विश्वस्त छौँ’, थापाले भने, ‘यहाँका नागरिकको पर्यटन व्यवसायबाटै जीवनस्तर उकास्ने कोसिसमा छौँ, त्यहि अनुसारका काम भइरहेका छन् ।’

नगरको १० वडामा पर्ने धनचौर सेङ्लेङ क्षेत्र आफैमा सौन्दर्य छ । यस क्षेत्रको बीचमा घनावस्ती र विशाल खुल्ला समथर चौर रहेको छ । वस्ति र चौर वरपरिबाट सल्लाघारीले चपक्क छोपेको मनोरम दृष्य देख्न सकिन्छ । यहाँ आउने पर्यटकहरूले मनोरम शान्त वातावरणबाट सल्ला सुसाएको हावासँगै माछापुच्छ्रे, धौलागिरी जस्ता हिमाल नजिकै देख्न सकिन्छ । यस क्षेत्रमा विभिन्न चलचित्र बिगत देखि सुटिङ हुँदै आएका छन् ।

तर, यहि क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटन भित्राउने उदेश्यले पाथीभरा मन्दिरको अनावरण गरेपछि यस क्षेत्रमा पर्यटकहरूको आगमन बढ्न थालेको वडा अध्यक्ष खगिश्वर पन्थीले बताए । उनले भने, ‘सुपादेउराली मन्दिर दर्शन गर्न आउने भक्तजनहरूलाई धनचौर सेङ्लेङमा रहेको पाथीभरा मन्दिरको दर्शन गर्न आउनका लागि सुपादेउरालीको लाउरेबजार देखि सिधा सडकमार्ग खोल्न आवश्यक छ ।’

पाथीभरा मन्दिर दर्शन गर्न आउने पर्यटकलाई सजिलोहोस भन्ने उद्धेश्यले पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाबाट आवश्य बजेट विनियोजन गरि होमस्टे निर्माणको काम भैरहेको नगरपालिकाका सूचना अधिकारी हरिशचन्द्र भुसालले जानकारी दिए । चालु आर्थिक वर्षमा धार्मिक पर्यटन क्षेत्रको बिकास गर्न वडा नम्बर १० को धनचौर सेङलेङलाई प्राथमिकतामा राखिको भन्दै त्यसका लागि आवश्यक रकम विनियोजन गरेको भुसालको भनाइ छ । पर्यटकीय ठाउँमा संरचना निर्माणका लागि प्रदेश सरकारबाट पनि केही बजेट माग गरेको र नगरपालिकाले थप बजेट व्यवस्थापन गरेर नयाँ गन्तव्यको प्रचारमा जोड दिने प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताए ।

सेङ्लेङमा पाथीभरा देवीको मुर्ति अनावरण, भइसकेको भन्दै अब पर्यटक आकर्षणका लागि पदमार्ग र अन्य संरचना तयार गरिने पोख्रेलको भनाई छ । उनले भने, ‘नगरपालिकाले त्यस क्षेत्रको बिकास गरि आन्तरिक तथा बाहृय पर्यटक भित्राउने र आन्तरिक आयश्रोत वृद्धि गर्ने उद्धेश्यले रकम बिनियोजन गरेर पूर्वाधार निर्माण गर्ने र यसको थप विकासका लागि नगर पालिकाले गुरुयोजना बनाएको छ, यो सँगै नगर पालिकाभित्रका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना बनाएका छौँ ।’

प्रकाशित मिति : १७ माघ २०७९ मंगलबार ००:००  ७ : १९ बजे