१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नीजि क्षेत्रका समस्या सम्बोधन गर्छौः उद्योगमन्त्री भण्डारी



अनिश बन्जाडे, बाणगंगा ।
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नीजि क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताउनुभएको छ । मंगलबारदेखि कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा शुरु भएको १३ औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले नीजि क्षेत्रलाई माथि उठाउने गरी आफू गम्भीरताका साथ लागि परेको बताउनुभयो ।

नेपालको अर्थतन्त्र यतिबेला संकुचनमा आएको बताउँदै व्यापार घाटा थाम्न नसक्ने अबस्थामा मुलक पुगेको उहाँले औल्याउनुभयो ।

सरकारले आफ्ना २१ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको बताउँदै त्यसै अनुरुप एक साता भित्र आफ्नो मन्त्रालयले पनि कार्ययोजना निर्माण गर्ने बताउनुभयो । यसमा उद्योग बाणिज्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नीजि क्षेत्रसंग सहकार्य गर्दै अघि बढ्ने उहाँले दाबी गर्नुभयो ।

पदभार ग्रहण गर्दाको समय देखि नै वाणिज्य क्षेत्रका नीतिगत प्रश्नहरु सम्बोधन गर्ने अठोट गरेको भन्दै नयाँ आर्थिक बर्षको बजेटमा उद्योगलाई माथि उठाउने गरी बजेट विनियोजनमा जोड दिने बताउनुभयो ।

नीजि क्षेत्रले अभिभावक नपाएको गुनासो बढेको भन्दै ती गुनासोलाई सम्बोधन गर्न आफूले पहिलो प्राथमिकता दिएको उहाँले दाबी गर्नुभयो ।

मन्त्री भण्डारी बोल्नु अघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र पूर्व उपाध्यक्ष उमेश प्रधानले उद्योगीका समस्या र वर्तमान अवस्थाबारे कुरा राख्नुभएको थियो । मुलुकले नीजि क्षेत्रलाई पर राख्ने, व्यवसायीका अहिलेका समस्या सम्बोधन नगर्ने हो भने भोलिको स्थिति जटिल रहेको उहाँहरुले बताउनुभएको थियो ।

महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव मनोज पौडेलले गर्नुभएको थियो ।

‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : १७ माघ २०७९ मंगलबार ००:००  ७ : २२ बजे