१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सुरु भयो १३ औं कपिलवस्तु महोत्सव



रिता खनाल, बाणगंगा ।
१३ औं संस्करणको कपिलवस्तु महोत्सवको शुभारम्भ भएको छ । जिल्लाको बाणगंगा चारनम्बर बुद्धरंगशालामा सन्चालन हुने महोत्सवको मंगलबार उद्घाटन गरिएको हो ।

नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव माघ २९ गतेसम्म सन्चालन हुने छ ।

महोत्सवको उद्घाटनमा यस क्षेत्रका विभिन्न संघ, संस्था र जातीय समूहले आ-आफ्ना संस्कृति र परम्परा झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ ।

बुधबार देखि सांस्कृतिक कार्यक्रम हुने आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक डोलकराम घिमिरेले जानकारी दिनुभयो ।

महोत्सवमा विगतको भन्दा केही फरक अनुभूति देख्न सकिने छ । यो बर्ष देखि गायन प्रतियोगीताको शुभारम्भ गरिने छ । अर्कोतिर १० औं संस्करणको कपिलवस्तु डान्स आइडल चल्ने छ । यी दुवै प्रतियोगीता बुधबार देखि सन्चालन हुने महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले बताउनुभयो ।

साथै विभिन्न जातजातीका नृत्य पनि महोत्सव अवधिभर सन्चालन हुने उहाँले बताउनुभयो ।

महोत्सवमा प्रमुख अतिथि र मुख्य कलाकारलाई बग्गी मार्फत मन्चमा लगिने छ । महोत्सवमा बढी भीडभाड हुने र प्रमुख अतिथि र कलाकार मन्चसम्म पुग्न गाह्रो हुने हुँदा यो पालि बग्गीको प्रयोग गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा झुँला, रोटीपिङ, ब्रेक डान्स, मौतकाकुवा लगायतका मनोरञ्जन सामग्री रहेका छन् । यो बर्ष झण्डै दुई सय स्टल रहेका छन् ।

महोत्सवको स्टेज नजिकै थारु समुदायको खाना पाइने छ । कृषिजन्य सामग्रीको प्रदर्शनी लगाइएको छ भने माटो परिक्षणको निशूल्क व्यवस्था पनि महोत्सवमा रहेको छ । घरेलु उत्पादनलाई जोड दिइएको महोत्सवमा प्रविधिको उच्चतम प्रयोग गरिएको छ । महोत्सवको स्टेजमा डिजिटल स्क्रिनको प्रयोग गरिएको छ । महोत्सवमा डेढ लाख दर्शक भित्राई झण्डै ६ करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

प्रकाशित मिति : १७ माघ २०७९ मंगलबार ००:००  ७ : ३७ बजे