१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

धुलाम्मे लुम्बिनी प्रदेश राजधानी प्रवेश गर्ने सडक, बनाउने तर्फ कसैको ध्यान छैन



मायादेवी अनलाइन, बाणगंगा ।
सडकको बेहाल स्थिति हेर्न कुनै गाउँ पुग्न पर्दैन् । नेपालको पूर्व-पश्चिम जोड्ने महेन्द्र राजमार्ग हुँदै हिडे मात्र पुग्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाउन खप्पिस सरकार भत्किएको सडक नदेख्ने भएको छ । दिनभर राज्यका विशिष्ट व्यक्ति ओहोर-दोहोर गर्ने चन्द्रौटा-धानखोला सडकखण्ड कसैको नजरमा पुग्न सकेको छैन् । यहाँसम्म की बुटवल घर भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी स्वंम यही सडक हुँदै हिड्छन् तर सडकको बेहाल देखेर पनि नदेखे झै गरेका छन् ।

पूर्व-पश्चिम यात्रा गर्ने यात्रुलाई यो सडकले दिएको हैरानी दुखलाग्दो छ । बर्खामा पहिरोले गन्तव्यमा पुग्नै सकस पार्ने यो सडकखण्ड हिउँदमा धुलाम्मे र ठूला ठूला खाल्डाले समस्या पार्दै आएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गतको धानखोला आसपासमा सडक नराम्रोसंग विग्रेको हो । पहाडी भू-भाग रहेको यो ठाउँमा दैनिक हजारौं साना, ठूला सवारी गुड्छन् । सडकको स्थिति दिन प्रतिदिन विकराल बन्दै गएको छ । सरकारले सडकको खाल्डासम्म पुर्न सकेको छैन् । देशको मुख्य सडकको यो स्थितिले समग्र विकासलाई लज्जित बनाएको छ । ]मुख्य बाटो नै यस्तो छ, अरु गाउँघरमा बाटाको स्थिति के होला, आफै बुझ्न सकिन्छ,’ चन्द्रौटाका हिरालाल विश्वकर्माले भने ।

अमेरिकाबाट प्राप्त एमसीसी परियोजनाले यो सडक बनाउने चर्चा हुँदै आएको छ । संसदबाट पास हुने वित्तिकै एमसीसीले काम गरिहाल्छ भन्ने हल्ला बढी भएपनि अझै काम हुन सकेको छैन् । कतिपय नेताले एमसीसी सदनबाट पास गर्नु भनेको तोकिएको समयमा काम सम्पन्न गराउनका लागि मात्र हो भन्ने तर्क दिएका थिए । तर, एमसीसीले सडक बनाउने तत्परता देखाएको छैन् । सरकारले पनि सडक बनाउने तर्फ ध्यान दिन सकेको छैन् । लुम्बिनी प्रदेशको राजधानी छिर्ने सडकको बेहाल स्थिति प्रति राज्यका कुनै संयन्त्र गम्भीर नदेखिएको दाङ गढवाका विक्रम थारुले बताए ।

सडकको बेहाल देखेपछि लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले एक मार्मिक स्टाटस लेखेका थिए ।

सांसद पन्थी लेख्छन्–‘कपिलवस्तुको पश्चिम् सीमा धानखोला देखि पश्चिम् १५० किमि सडकको स्तरोन्नति गर्ने र बुटवल गोरखपुरसहितको बिजुली ओसार्ने बाटो बनाउने भनिएको त्यो हल्लाखोर भाडभैलो मच्चाएको अमेरिकी सहयोग कता हरायो ? सदनबाट पास हुँदाका दिन बाटै कामसुरु हुने जस्तो गरेको नेपालका कानुन मान्नु नपर्ने कुनै अनुमति नचाहिने भएको हुँदा छिटो हुन्छ भन्ने भ्रममा पारेर त्यो एमसिसि नेपाल कहाँ सुतेको छ ? एमसीसी नेपालले अहिलेसम्म नेपाल सरकारको कति बजेट निल्यो ? पहिले चनौटाबाट सुरु गर्ने भनिएको कसरी फेरी धान खोला पु्ग्यो ? कम्तीमा पहाडीखण्ड सुरु हुने बनकसबासाबाट त सुरु हुनु पर्छ । अहिले बनकस भालुबाङ्गखण्डको बेहाल अवस्था र यात्रुले कहिलेसम्म सास्ती खेप्नु पर्ने हो एमसीसी नेपाल ?

सडकको दुर्दशाबारे धेरैले असन्तृष्टि जनाए पनि सम्बन्धित निकाय मौन जस्तै बनेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ७ : ०४ बजे