१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

उद्घाटनको ६ महिनासम्म पनि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्द



बुटवल ।

११ भदौमा तामझामका साथ उद्घाटन भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि नबन्दा महत्वपूर्ण संरचना प्रयोगमा आउन नसकेको हो ।

उद्घाटन समारोहमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र हालका अर्थमन्त्री विष्णु पौडेलसम्म सबैले सम्मेलन केन्द्र छिट्टै सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।

सम्मेलन केन्द्रको आयोजना छनोटदेखि वजेट विनियोजन र उद्घाटनसम्म रुपन्देही–२ का सांसद समेत रहेका वर्तमान अर्थमन्त्री पौडेल सहभागी थिए । सम्मेलन केन्द्रको कार्यविधि पौडेलले सम्हालेको अर्थ मन्त्रालयमा ६ महिनासम्म अड्किएर बसेको छ ।

एक अर्ब ११ करोड रुपैयाँको लागतमा शहरी विकास मन्त्रालय अन्तर्गत भवन निर्माण विभागले सम्मेलन केन्द्र बनाएको हो । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य हल एक हजार सिट क्षमताको छ । सभाहल सञ्चालन सम्बन्धी सरकारले बनाएको मापदण्ड अनुसार ५०० सिट क्षमतासम्मको सभाहललाई गाउँपालिका वा नगरपालिकाले सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै, उपमहानगरपालिकालाई ७०० सिट क्षमतासम्मको र महानगरपालिकालाई १ हजार सिट क्षमताको सभाहल सञ्चालन गर्न दिन सक्ने उल्लेख छ ।

त्यो भन्दा माथिको विकास समितिमार्फत सञ्चालन गर्न सकिने मापदण्ड छ । अर्थमन्त्रालयबाट कार्यविधि स्वीकृत भएपछि त्यसलाई मन्त्रिपरिषदले पारित गर्नुपर्छ । त्यसपछि विकास समिति ऐन अन्तर्गत सम्मेलन केन्द्र सञ्चालन समिति गठन गरेपछि विकास समिति गठन भई त्यसले सम्मेलन केन्द्रका हलहरु भाडामा दिन सक्ने कानूनी व्यवस्था छ ।

बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले गत जेठमै सञ्चालन कार्यविधि बनाउन विभागमा आग्रह गरेको थियो ।

विभागले साउनमा शहरी विकास मन्त्रालयमा कार्यविधिको मस्यौदा पेश गरेको थियो । मन्त्रालयमा पटक पटक छलफल भएर भदौमा अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइए पनि स्वीकृत भइनसकेको शहरी विकास मन्त्रालयका सहसचिव प्रदीप परियारले बताए । ‘हामीले सञ्चालन कार्यविधि भदौमै अर्थ मन्त्रालयमा सहमतिको लागि पठाएका हौं’, परियारले भने, ‘स्वीकृत भएर आइसक्नुपर्ने हो, आएको छैन ।’

सम्मेलन केन्द्र उद्घाटनपछि एक दर्जन बढी संघसंस्थाले हल भाडामा लिन सम्पर्क गरे पनि कार्यविधि अभावमा दिन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

‘संघसंस्थाहरु हल चाहियो भनेर सम्पर्क गर्नुहुन्छ तर कार्यविधि अनुसार विकास समिति नहुँदा दिन मिलेको छैन’, पन्थीले भने, ‘उद्घाटन भएको ६ महिनासम्म कार्यविधि स्वीकृत नहुँदा सञ्चालनमा आउन नसक्दा राम्रो सन्देश गएको छैन, नकारात्मक टिकाटिप्पणी मात्रै सुन्नुपरेको छ ।’

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रेखदेख र सरसफाइमा मासिक १२ लाख रुपैयाँ खर्च भइरहेको पन्थीले बताए । ‘असारसम्म निर्माण कम्पनीले नै खर्च र रेखदेख गर्ने सम्झौता छ तर छिटो कार्यविधि स्वीकृत भएन भने असारपछि हुने खर्च सरकारलाई घाटा हुने हो’, पन्थीले भने, ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउन नसकेको सन्दर्भले सम्मेलन केन्द्र पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता सबैलाई देखिएको छ ।’

बुटवलस्थित यो सम्मेलन केन्द्र काठमाडौं बाहिरको पहिलो अन्तर्राष्ट्रिय हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल छन् ।

आकाशबाट हेर्दा नेपालको झण्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल ९अडिटोरियम हल० मा बाल्कोनी र भुइँतलामा गरी ८ सय ७२ वटा कुर्सी जडान गरिएको छ ।

यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुई वटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप २ वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने हल छन् ।

अपाङ्गमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चारपांग्रे र ४०० मोटरसाइकल राख्न मिल्ने गरी पार्किङस्थल र हेलिप्याड समेत बनाइएको छ ।

सम्मेलन केन्द्रमा बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी र प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट बनेका छन् । जसमध्ये एउटा भीआईपी गेट छ । प्रत्येक गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ ।

विद्युतका लागि ६ सय ३० केभीए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । जमिनमुनिको पानी रिचार्ज गर्न ८ वटा रिचार्ज पिट पनि बनाइएको छ ।

सम्मेलन केन्द्रसँगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रसमेत बन्दै छ । प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र दुवैलाई मिल्ने गरी पार्किङ स्थल र प्रवेशद्वार बनेका छन् । सम्मेलन केन्द्र बनेसँगै सानादेखि ठूला सममेलन र सेमिनारहरु गर्न ठाउँ अभावको समस्या हट्ने रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्ण घिमिरेले बताए ।

बुटवल प्रदेशको राजधानी हुने अनुमानका साथ सम्मेलन केन्द्र बनाइए पनि स्थायी राजधानी दाङको भालुुवाङ सारिएकाले सम्मेलन केन्द्रको दिगो सञ्चालनमा चुनौती हुुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  २ : ४४ बजे