१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

छोरी जन्माए १५ हजार खातामा, विजयनगरले गरिरहेको छ नौलो अभ्यास



मायादेवी अनलाइन, बाणगंगा ।
छोरी जन्माउनेलाई यहाँको एक स्थानीय तहले प्रोत्साहन गर्दै आएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले पहिलो सन्तानका रुपमा छोरी जन्माउनेलाई नगद रु. १५ हजार दिदैं आएको छ ।

मधेसका कतिपय गाउँमा अहिले पनि छोरीलाई हेँला गर्ने, भ्रुणमै हत्या गर्ने, नपढाउने र सानै उमेरमा विवाह गराइदिने, जन्म दर्ता नगराउने लगायतका समस्या धेरै छन् । भारतसँग सीमा जोडिएको यो गाउँपालिकामा यस्ता धेरै समस्या देखिएपछि पालिका अध्यक्ष गोपाल थापाले ‘छोरी बचाऔं, छोरी पढाऔं’ नारा अगाडी सारेका हुन् ।

पालिकाले पहिलो सन्तानका रुपमा छोरी जन्माउनेलाई बैंक खातामा १५ हजार राखिदिन गर्छ । तराईका गाउँमा अहिले पनि छोरी जन्माउनेलाई अपराधका रुपमा हेर्ने गलत संस्कार हट्न सकेको छैन ।

‘गलत संस्कार हटाउन हामीले नीति तथा कार्यक्रममै ‘छोरी बचाऔं, छोरी पढाऔं’लाई प्राथमिकताका साथ राखेर बजेट मार्फत कार्यान्वयन गरिरहेका छौं अध्यक्ष थापाले भने, ‘परिवारमा पहिलो छोरी जन्मे छोरीको खाता खोलेर बैंकमा १५ हजार जम्मा गरिदिने गर्छौ ।’

विगत दुई बर्ष देखि सुरु गरिएको अभियानले सार्थकता पाइरहेको छ । आव ०७८/०७९ मा ४१ जना लाभान्वित भएका छन् । यो बर्षपनि उत्तिकै मात्रामा लाभ लिने बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वाइपी अधिकारीले जानकारी दिए ।
अहिले पनि पालिका भित्रका २५ प्रतिशत छोरीहरुले मात्र पढ्न पाएको तथ्याङ्क छ । बालविवाहको समस्या पनि उत्तिकै विकराल छ । विवाह दर्ता, जन्म दर्ता, अस्पतालमा बच्चा जन्माउने, नियमित चेकजाँच गराउने काम निकै कमले गरेको अवस्था छ ।

‘हामीले अगाडि सारेको यो अभियानले यस्ता धेरै कमजोरीलाई रोक्ने, नियन्त्रणमा ल्याउने छ । त्यसैले यो प्रचारमुखी होइन, कार्यान्वयन गर्नैकै लागि ल्याइएको हो’, उनले भने ।

अभिभावकलाई छोरीप्रतिको जिम्मेवारी बढाउनका लागि यो अभियान शुरु गरेको अध्यक्ष थापा बताउँछन् । पालिकाबाट यो रकम प्राप्त गर्नका लागि विवाह दर्ता, नियमित खोप तथा स्वास्थ्यचौकीमा परीक्षण अनिवार्य र बच्चा जन्माउन बर्थिंग सेन्टरलाई अनिवार्य गराइएको छ । यी प्रक्रिया पूरा गर्नेमा मात्र पालिकाले दिने सुविधा पाउने प्रबन्ध मिलाइएको छ ।

‘पालिकाले १५ हजार ती छोरीको नाममा राख्दा परिवारले पनि ५ हजार थप गरेर जम्मा गर्नुपर्ने हुन्छ । त्यो रकम २० वर्ष अगावै निकाल्न पाइने छैन् । त्यो समयसम्म त्यो रकम कम्तीमा दुई लाख जम्मा हुन्छ र पढाउन सहयोग हुन्छ । यसले गर्दा अभिभावकलाई पनि कानुनी दायरामा ल्याउन सजिलो हुन्छ । समाजमा लैंगिक विभेद कम हुन्छ । रोक्न नसकिएको बालविवाह पनि यसले कम गराउनेछ’, पालिका अध्यक्ष थापाले सुनाए ।

यसका साथै विद्यालयस्तरमा छोरी पढाउनका लागि पालिकाले विभिन्न योजना अगाडि सारेको छ । अभिभावकलाई शैक्षिक सचेतना बढाउन धेरै प्रयास गरिरहेको उनले बताए । छोरीलाई ६ कक्षादेखि ड्रेस कपी व्यवस्थापन, ९ कक्षामा साइकल र झोला तथा ११ कक्षामा पुग्नेलाई पनि साइकल, झोलालगायतको व्यवस्था गरिरहेको उनको भनाई छ ।

शिक्षाको विकास बिना समृद्ध पालिका बनाउन नसकिने उनको धारणा छ । ‘सामाजिक र आर्थिक रुपान्तरणसहितको विकासले मात्र समृद्ध पालिका बनाउन सकिन्छ, त्यहीँ सोचले अगाडी बढेका छौं,’ दोस्रो कार्यकालका लागि पालिकाको अध्यक्ष भएका थापाले भने ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  ७ : ४४ बजे