४ चैत्र २०८०, आइतबार | Sun Mar 17 2024

कपिलवस्तु महोत्सवः निःशुल्क माटो परिक्षणले किसान लाभान्वित



अनिश बन्जाडे, बाणगंगा ।
माघ १७ गते मंगलबारदेखि कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा जारी महोत्सवमा किसानले समेत लाभ लिइरहेका छन् ।

बाणगंगा नगरपालिकाको कृषि शाखाले महोत्सव परिसरमा राखेको निःशुल्क माटो परिक्षणबाट किसानले लाभ लिइरहेका हुन् । साथै महोत्सवमा कृषि प्रदर्शनी पनि राखिएको छ । जहाँ किसानले उत्पादन गरेका विभिन्न प्रकारका बालीनाली देख्न सकिन्छ ।

नगरपालिकाले माटोको परिक्षणका लागि बाँकेको खजुराबाट बिशेषज्ञलाई बोलाएको छ । किसानले दिएको माटोलाई बिशेषज्ञले परिक्षण गर्ने गर्छन् । माटो परिक्षण पश्चात माटोको अवस्था र माटो सुधारको उपायसंगै माटो परिक्षणको रिपोर्ट तत्काल किसानलाई दिने व्यवस्था नगरको कृषि शाखाले गरेको छ ।

लुम्बिनी प्रदेश भित्र माटो तथा मल परिक्षण गर्ने प्रयोगशाला बाँकेमा छ । जसअनुसार प्रदेशका १२ वटै जिल्लाका किसानहरु त्यहाँसम्म पुग्न सकिरहेका छैनन् । बाँकेबाट मात्र माटो तथा मलको परिक्षण हुने गरेको छ ।

घरदैलोमै विशेषज्ञबाट माटो परिक्षण गराउदा पाउँन यस क्षेत्रका किसान खुसी देखिएका छन् । बाणगंगा- ९ जिनुवाबाट महोत्सव अवलोकनका लागि आएकी गीता भुसालले माटो परिक्षण शिविर तथा कृषि प्रर्दशनी सराहनीय रहेको बताइन् ।

प्रयोगशालामा पुगेर माटो परिक्षण गराउँदा किसानले रु.एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । विभिन्न संघ, संस्थाबाट ल्याइएको माटो जाँच गरेबापत रु.चार सय रुपैयाँसम्म लिदै आएको माटो तथा मल प्रयोगशाला खजुरामा कार्यरत माटो परिक्षक खिम बहादुर केसीले बताए । तर महोत्सव परिसरमा निःशुल्क परिक्षणको प्रबन्ध मिलाइएको छ । जारी महोत्सवमा घुम्ति माटो परिक्षण प्रयोगशालाद्धारा मुबिलाइजेसन भ्यानमा माटो परिक्षण गरिएको केसीले जनाए ।

बाणगंगा नगरपालिका भित्रका किसानहरुले खेती गर्दै आएको माटोको अवस्था कस्तो छ भनेर जान्नका लागि माघ १८ गतेदेखि २२ गतेसम्म माटो परिक्षणको शिविर आयोजना गरिएको नगरका कृषि शाखा प्रमुख लेष बहादुर केसीले बताए ।

मंगलबारदेखि शनिबार दिउँसोसम्म १ सय ६२ जना किसानको माटो परिक्षण गरिएको उनले जनाए । माटो परिक्षण आइतबारसम्म मात्र चल्ने उनले बताए ।

यस्तै महोत्सवमा संचालित कृषि मेलामा किसानले उत्पादन गरेका विभिन्न बालिनाली राखिएको छ । किसानलाई थप उत्साहित पार्न र महोत्सव अवलोकनका लागि आउने दर्शकलाई उत्प्रेरित गर्नका लागि कृषि सामग्रीको प्रदर्शनी आयोजना गरिएको हो ।

किसानले ल्याएका बालीनालीलाई सात वटा बिधामा बर्गीकरण गरेर उत्कृष्ट बाली ल्याउने किसानलाई प्रथम, द्धितीय, तृतिय र सान्त्वना पुरस्कार दिने ब्यवस्था नगरको कृषि शाखाले गरेको छ । नगरको कृषि शाखाले हरेक बर्षको औद्योगिक प्रदर्शनी तथा कृषि महोत्सवमा किसानलाई महत्वपूर्ण जानकारी दिदैं आएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  ७ : ३३ बजे