१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

गाउँघरमै सेवा पाउँदा बुद्धभूमिबासी दंग, सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयासमा मेयर श्रेष्ठ



मायादेवी अनलाइन, बुद्धभूमि ।
गाउँघरमै सरकारी सेवा पाउन थालेपछि बुद्धभूमिबासी खुसीले दंग परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरबासीलाई गाउँघरमै सरकारी सेवा दिदैं स्थानीय सरकारको प्रत्यक्ष अनुभूति गराएको छ ।

सेवा पाउनका लागि नगरपालिका धाउनुपर्ने बाध्यता हटाउँदै बुद्धभूमिले एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रदान गरिरहेको हो । नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कृषि, पशु, स्वास्थ्य, सामाजिक शाखा, राजश्व शाखाले नगरका विभिन्न स्थानमा पुगेर सेवा दिइरहेको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । नगरबासीको फाइदाका लागि यस्तो कामको सुरुवात गरिएको उहाँले प्रष्ट्याउनुभयो । उहाँले थप्नुभयो, ‘नगरबाट पाउने सेवालाई अझ प्रभावकारी बनाउन लागिपरेका छौं, यसैको सुरुवात हामील गरेका हौं ।’

चालु आवमा नगरका सबै वडामा पुगेर सेवा दिने योजना नगरपालिकाको छ । बार्षिक रुपमै आफ्नो नीति, कार्यक्रम र बजेटमा एकीकृत घुम्ती शिविर आयोजना गरी नागरिकको घरदैलैमा सेवा प्रदान गर्ने उद्धेश्यले यस्तो किसिमको कार्यक्रम गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सोही कार्यक्रम अन्तगर्त नगरका विभिन्न वडामा कार्यक्रम भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरले वडा नं. ६, वडा नं. ८, वडा नं. १० र वडा नं. ७ मा एकीकृत घुम्ती शिविरको आयोजना गरिसकेको छ ।

एकीकृत घुम्ती शिविरबाट सयौं किसान र सर्वसाधारणले सेवा लिएका छन् । यही माघ ११ गते सोमबार र मंगलबार वडा नं. ६ महुवामा दिइएको घुम्ती शिविरबाट निशुल्क आखाँ जाँचमा १२ सय ९४ जनाले सेवा लिएका थिए । जसमा २ सय २ जनाको निशुल्क आखाँको अप्रेशन गरिएको थियो भने ४ सय ६२ जनालाई निशुल्क चश्मा बाँडिएको थियो । यस्तै अरु वडामा आयोजना गरिएका शिविर मार्फत थुप्रै लाभान्वित भएका नगरका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनुभयो ।

माघ १९ गते वडा नं. ८ मा आयोजना गरिएको घुम्ती शिविर माफर्त १ सय ९८ जना लाभान्वित भएका छन् । नगर प्रवक्ता तेज बहादुर बस्नेतका अनुसार कर सचेतीकरणबाट ११ जना, पन्जीकरण तर्फ १८ जना, जेष्ठ नागरिक परिचय पत्र वितरणमा २४ जनाले सेवा लिएका छन् । यस्तै कृषि, स्वास्थ्य र पशु शाखाबाट सर्वसाधारणले सेवा लिएका छन् ।

१० वडा रहेको नगरका सबैजसो वडामा पुगेर सेवा दिने योजना रहेको नगर उपप्रमुख मीरा थारुले बताउनुभयो । नगर देखि टाढा टाढा रहेका वडामा पुगेर अहिले घुम्ती शिविर सन्चालन गरिएको भन्दै प्रत्येक बर्ष यसरीनै काम गर्दै जाने उहाँले जनाउनुभयो ।

नगरपालिकासम्म आउन नसक्ने, सेवाको मूल प्रवाहबाट टाढा रहेका विपन्न घरपरिवारको घरमै सेवा प्रदान गरिरहेको नगर उपप्रमुख थारुको भनाई छ ।

स्थानीय सरकार घरदैलोको सरकार भएकाले नागरिकलाई सेवा दिन कुनै कसुर बाँकी राख्न नहुने उहाँको तर्क छ ।

दोस्रो पटक नगर प्रमुखमा निर्वाचित श्रेष्ठ र उपप्रमुखमा निर्वाचित हुनुभएकी थारुले अघिल्लो कार्यकालका सुरुवात गरिएका कामको निरन्तरतासंगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता नागरिकको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा आफूहरुले काम गर्ने योजना बनाएको बताउँदै आउनुभएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९ आइतबार ००:००  ७ : १३ बजे