१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुको मायादेवीमा पन्ध्र वर्षदेखि गौरा भन्सार कार्यालय बन्द



तौलिहवा ।

कपिलवस्तु मायादेवी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गौरा छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।

तत्कालीन माओवादी द्धन्दका बेला यो भन्सार कार्यालय विस्थापित भएको थियो । मुलुकमा शान्ति स्थापना भएको १५ वर्ष बित्दा पनि यो भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।

यो भन्सार कार्यालय सञ्चालन नहुँदा बलुहवा, तितिर्खी, हरनामपुर, दोहनी, गौरीका बासिन्दा र व्यवसायीलाई नेपाल–भारत व्यापार गर्न समस्या भएको स्थानीय हरिराम हरिजनले बताउनुभयो । अहिले यहाँका बासिन्दा तथा व्यापारी सुठौली र चाकरचौडाबाट सामान ल्याउने लैजाने गर्छन् । गौरा छोटी भन्सार कार्यालय बन्द रहँदा अवैध व्यापार बढेको छ ।

गौरा छोटी भन्सार कार्यालय भवनको निरीक्षण गरी कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार उल्लेख गरी केन्द्रमा जानकारी पठाएको सुठौली भन्सारका सूचना अधिकारी कृष्ण विश्वकर्माले जानकारी दिनुभयो । “भौतिक पूर्वाधार निर्माणका साथै भन्सार ऐन संशोधन भएपछि मात्रै कार्यालय सञ्चालनमा आउन सक्छ । यो कार्यालयबाट एक पटकमा एक जनाको पाँच हजार रुपियाँसम्म मात्रै भन्सार महसुल असुल गर्न सकिन्छ । यो दर निकै न्यून भयो । यसको परिमार्जन हुँदै छ,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २४ माघ २०७९ मंगलबार ००:००  १ : २५ बजे