१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

फेरियो कृष्णनगरको स्वरुप



मायादेवी अनलाइन, बाणगंगा
देशको प्रमुख भन्सार नाका समेत रहेको कृष्णनगरको स्वरुप फेरिएको छ । कुनै समयको धुलाम्मे कृष्णनगर अहिले सफा देखिन थालेको छ ।

चन्द्रौटा-कृष्णनगर सडकखण्ड फोर लेनको बनेको छ । २० किलोमिटरको दुरीमा रहेको यो सडक हालै सम्पन्न भएको हो । साँघुरो सडक फोर लेनमा स्तरउन्नती भएपछि यस क्षेत्रको मुहारै परिर्वतन भएको छ ।

बार्षिक अरबौं भन्सार उठाउने कृष्णनगर लुम्बिनी प्रदेशको ठूलो मध्येको एक भन्सार नाका हो । खाद्यान्न, फलफूल, लत्ताकपडा लगायतका बस्तु तथा सामग्री भित्रने यस नाकाको प्रवेशद्धार आजभोलि सफा छ ।

विगतमा दोस्रो मुलुक भारत हुँदै नेपाल आउने ठूला मालबाहक सवारी साधन राख्ने स्थान समेत थिएन् । सडक छेउछाउ सवारी रोक्नुपर्दा ट्राफिक जाम समेत हुने गथ्र्यो । तर अहिले भन्सार नाका अगाडी मालबाहक सवारी रोक्ने पार्क बनाइएको छ । पक्की संरचनामा बनेको त्यो पार्कमा ढुवानीका साधन राख्ने गरिएको छ ।

कृष्णनगरको मुख्य बजारमा रहदै आएको बसपार्क हटेको छ । बजार देखि झण्डै एक किलोमिटर अगाडी छुट्टै बसपार्क बनाइएको छ । जसले कृष्णनगरको मुख्य बजार दुर्गन्धित हुनबाट जोगिएको छ । अस्तव्यस्त बसपार्क कृष्णनगरको ठूलो चुनौती थियो ।

बजार क्षेत्रका भित्री गल्लीहरु पनि व्यवस्थित बनाउने काम जारी छ । कतिपय गल्ली पक्की बनिसकेका छन् भने कतिपय गल्ली बन्ने क्रममा छन् । ढलनिकास सहितका भित्री सडक पक्की बन्न लागेपछि विगतको भन्दा फरक दृश्य कृष्णनगरमा देखिने बजारबासीको विश्वास छ।

सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु भत्काइएको छ । कृष्णनगर नगरपालिकाले महेन्द्र पार्क आसपास बनाइएका अवैध संरचना भत्काएको हो । कृष्णनगर भन्सारको नजिकको सडक चौडा बनाउने काम भइरहेको छ । कृष्णनगर नगरपालिकाको कार्यालय रहेको भित्री सडक पक्की बनाउने गरी हाल काम जारी छ ।

बजार क्षेत्रमा नालीसहितको फोर लेन सडक बनेको छ । जसले सडक आसपासमा रहेको फोहर हटेको छ । नगरपालिकाले दैनिक रुपमा फोहर संकलन गरी व्यवस्थापन गर्दै आएको छ ।

विकासको लहरसंगै कृष्णनगरको मुहार फेरिएको नगर प्रमुख रजत प्रताप शाह बताउँछन् । विगतमा चाहेर पनि कृष्णनगर राम्रो बनाउन नसकिएको भन्दै संघीय सरकारको ध्यान पुगेसंगै नगरको मुख्य बजार व्यवस्थित बनेको उनको भनाई छ । नगरपालिकाले आफू सक्दो बजार व्यवस्थित बनाउन लागिपरेको उनले बताए । संघीय सरकारले कृष्णनगर बजार भित्रको सडक बनाउन बजेट विनियोजन गरेको र त्यसको कार्यान्वयन भइरहेको उनले बताए ।

सडक अतिक्रमण गरी बनाइका अवैध संरचनाहरु हटाउने काम नगरपालिकाले गरिरहेको उनले जनाए ।

नगरपालिकामा ढल निकासीको समस्या विकराल रहेको उनले बताए । त्यसको लागि पक्की नाली निर्माण गरिरहेको उनले बताए । नालीमा अनाश्यक फोहर फाल्दा नाली जाम हुने समस्याको अन्त्य गर्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित मिति : २५ माघ २०७९ बुधबार ००:००  ६ : ४० बजे