१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

थारू संग्रहालय निर्माण गर्दै बुद्धभूमि नगरपालिका



मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाले थारू कला र संस्कृति जर्गेना गर्न सवा करोेड बढीको लगानीमा थारू संग्रहालय निर्माण सुरु गरेको छ । आदिवासी जनजाति थारूको कला, संस्कृति, भेषभूषा प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिका–४ को बुड्ढीमा संग्रहालय निर्माण सुरु गरिएको मेयर केशवकुमार श्रेष्ठले बताए ।

एक करोड ३२ लाखको लागतमा चालु आर्थिक वर्षभित्रै संग्रहालय निर्माण हुने मेयर श्रेष्ठले बताए । संग्रहालय किनारमै थारू होमस्टे समेत सञ्चालन गरिने उनले बताए । ‘थारू कला र संस्कृति जोगाउन कसरी काम गर्न सकिन्छ भन्नेतर्फ हामी अग्रसर भएका छौं’, उनले भने ।

मेयर श्रेष्ठले थारू संस्कृति प्रोत्साहन गर्ने गरी आयआर्जनमूलक सीप विकास, पहिचान र रोजगार दिने अभियानमा आफूहरू लागेको बताए । उनले भने, ‘अहिले थारू समुदायले बनाएको कलात्मक ढकियाको माग अधिक भएकाले त्यसको समेत सीप विकासमा नगरपालिका लागेको छ । थारू समुदायकै प्रवद्र्धनका लागि बरकलपुर र बकुलीपुरमा थारू कोसेली घर निर्माण गरिएको र त्यहाँ होमस्टेसमेत सञ्चालन गरिने छ ।’

मेयर श्रेष्ठले थारू कला र संस्कृतिको विकासमा थारू समुदाय नै सचेत भई एकबद्ध हुनुपर्ने बताए । उनले भने, ‘संस्कृति, रीतिरिवाज, खानपानलगायत छुट्टै पहिचान बाकेका थारूहरूको कला संरक्षण र सम्वद्र्धनमा नगरपालिका पहिल्यैदेखि लागिपरेको छ ।’

नगरपालिकाले निकासा गरेको अढाई लाख रूपैयाँबाट खरिद गरिएका थारू सामग्री मेयर श्रेष्ठले थारू संस्कृति संरक्षण केन्द्रका अध्यक्ष पवनकुमार चौधरीलाई हस्तान्तरण गरेका छन् ।

यस्तै केन्द्रले विगत एक महिनादेखि नगरपालिकामा रहेका थारू समुदायका घरघरमा गई संकलन गरेको थारू परम्परागत सामग्रीसमेत मेयर श्रेष्ठले चौधरीलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९ बुधबार ००:००  ७ : १० बजे